प्राइम खबर संबाददाता | साउन ३, २०७८ आइतबार

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा नंबर ३ अन्तर्गत पर्ने उत्तरी भेग चुरे क्षेत्रमा विद्युत जडान कार्य सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ क्षेत्रमा रहेका चुरे भेगका विकट बस्तिहरुमा विद्युत सञ्चालन भएको छ ।

स्थानिय निर्वाचनको समयमा चन्द्रपुर नगरपालिकाको वडा ३ का अध्यक्ष बोधनाथ देवकोटा (रवि) ले प्रतिबद्धता जनाए अनुसार आइतबार पुरा भएको वडा अध्यक्ष देवकोटाले बताएका छन् । नेकपा माओवपादी केन्द्र रौतहटका इन्चार्ज तथा केन्द्रिय सदस्य युवराज भट्टराइ समीरको बिशेष पहलमा सो क्षेत्रमा विद्युत लाइन बत्ति बाल्न सफल भएको वडा अध्यक्ष देवकोटाले बताए ।  वडा नम्बर ३ अन्र्तगत रहेका चुरे क्षेत्रका ११६५ घरधुरीले बत्तिको उपभोग गर्ने अध्यक्ष देवकोटा बताउँछन् ।

स्थानिय निर्वाचनमा आफुलाई विजय गराएमा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ अन्र्तगत चुरे क्षेत्र अरुणबस्ति , भोलुम्टार , इपिलघारी , चिसापानी , मोरङ्गे , रतौली , झुलेखोप  तथा सुत्ने खोलामा विद्युत , खानेपानी तथा शिक्षा जस्ता आधारभुत आवश्यकताहरुलाई प्राथमिकतामा राखेर आफ्नो कार्य अवधिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए अनुसार ती सबै कामहरु पुरा गरेकामा स्थानिय हर्षित भएका छन । चुरे क्षेत्रका अन्य स्थानहरुमा विद्यालय , खानेपानी तथा विद्युत लाइन केही महिना अगाडी नै स्थानियले उपभोग गर्दै आइसकेको र आइतबार झुलेखोप तथा सुत्ने खोलामा वडा अध्यक्ष देवकोटाले स्वीच अन गरि विजुली बत्ति प्रसारण गरिएको छ । आइतबारबाट चन्द्रपुर नगरपालिकाको विकट क्षेत्र चुरेका बासिन्दाहरुले पनि विजुली बत्तिको उपभोग गर्न पाएका छन ।

यस क्षेत्रमा विजुली बत्ति बलेसँगै वडा नम्बर ३ का सबै क्षेत्रमा विजुलीको सुविधा पुगेको छ । चन्द्रपुर नगरपालिकाका १० ओटा वडाहरुमध्ये वडा नम्बर ३ मा विकासको गतिले तिब्र रुपमा लिइएको अन्य क्षेत्रका नागरिकहरुले समेत बताउदै आएका छन । सुगम नगरपालिकाको रुपमा परिचित चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारमा विगतका दिनहरुमा हिलाम्मे सडकमा हिड्न बाध्य रहेका थिए । तर स्थानिय निर्वाचन पश्चात  विजयी भएका वडा अध्यक्ष देवकोटाले वडाका हरेक सडकहरु कालो पत्रे गरिसकेका छन । विद्यालय , स्वास्थ्य चौकी , प्रहरी चौकी , शुद्ध खानेपानी , विद्युत , इन्टरनेट सेवा लगायतका अति आवश्यक सुविधाहरु वडामा सञ्चालन गर्न सफल भएका छन् ।

आफ्नो कार्यकाल अब एक बर्ष रहेका बताउँदै अगामी दिनमा स्थानिय दक्ष र योग्य नागरिकहरुलाई रोजगारीको अवसर सिर्जना गरि बिशेष गरि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बेरोजगार समस्याको अन्त्य गर्ने र युवा शक्तिलाई विदेश पलायनमा न्यूनीकरण गर्ने र चारैतिर विकाशको लहर सिर्जना गर्दै आफ्नो वडाको जनताले त्यसको अनुभव गर्न सक्ने किसिमको भिजन आफ्नो रहेको अध्यक्ष देवकोटाले बताए ।