प्राइम खबर संबाददाता | साउन ५, २०७८ मंगलबार

काठमाडौं– नेपाली कांग्रेसले डिजिटल भोटिङको लागि आवश्यक प्रविधिको तयारी गरेको छ । योसँगै पार्टीले आवश्यक ठानेको अवस्थामा केन्द्र र ७ प्रदेशको ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था भएको नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेसको सूचना, संचार तथा प्रचार विभागले कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको समेत जनाएको छ। ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र सातै प्रदेशको निर्वाचन सम्बन्धि सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको विभागले जनाएको छ । ‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्य योजना तय गर्दै गरेको विभागले जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरेको नेपाली काँग्रेशले जनाएको छ ।