प्राइम खबर संबाददाता | साउन ९, २०७८ शनिबार
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको लागी तयारी गरिएको हो ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार " विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ । अधिकारी भन्छन् ‘हामी क्यालिबेरेसन फ्लाइटका लागि तयारीमा छौँ ।’
क्यालिबेरेशन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो । यसका लागि पाँच \ सात सिट भएको विमान हुन्छ र त्यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्ने गर्दछ । उडानका क्रममा एन्टिना, सिग्नल रिसिभ, लाइटिङ, कम्युनिकेशन लगायत सबै सूचना ठीक छ छैन भनी परीक्षण हुने गर्दछ ।
भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी वान) मा सम्झौता भएर निर्माण कार्य विसं २०७१ माघ १ देखि शुरु गरेको हो । कूल रु छ अर्ब २२ करोड ५१ लख ३० हजार २२७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गर्न नर्थ वेस्टले ठेक्का पाएको हो ।
आवश्यक सबै उपकरण अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड र अस्ट्रियाबाट ल्याइएको आइसिबी टू का परियोजना व्यवस्थापक प्रविन न्यौपानेले बताए ।