प्राइम खबर संबाददाता | साउन १०, २०७८ आइतबार
निर्मला पन्तको हत्या भएको तीन वर्ष पुग्दा पनि दोषी पत्ता लागेको छैन । निर्मलाकी आमा दुर्गादेवी पन्तले दोषीलाई कारबाही हुने आशा मरेको भन्दै निराशा ब्यक्त गरेकी छिन् ।
२०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडामा रहेको घरमा गएकी निर्मलाको भोलिपल्ट महेन्द्रनगर–उलटाखाम सडकछेउको उखुबारीमा शव भेटिएको थियो । त्यसपछि दोषीलाई कारबाहीको माग गर्दै लगातार विरोध प्रदर्शन भइरहेको छ ।
२०७५ साल भदौ ८ गते प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा भीमदत्त–१८ भगतपुरका शनि खुनाको ज्यान गएको थियो । अहिले पनि निर्मला घटनामा ठोस प्रमाणकै खोजीमा रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको हत्या भएको आज तीन वर्ष पूरा भए पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका छन् ।
शर्माले सामाजिक सञ्जालमार्फत प्रतिपक्षी हुँदा उठाएको प्रश्नको जवाफ दिने ठाउँमा पुगेको भन्दै अब गहन दायित्व निभाउनुपर्ने बेला आएको बताएका छन् ।