प्राइम खबर संबाददाता | भदौ १, २०७८ मंगलबार
रौतहट आफुलाई पत्रकार बताउने एकजना सहित दुईजनालाई रौतहट प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले गत राति लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ईशनाथ नगरपालिका ८ का आफुलाई पत्रकार बताउने मो. मोजिबुल्लाह र राजपुर नपा ७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाह रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथ बाट १ सय ५ थान लागुऔषध नाइट्राभेट बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत रौतहटको पछाडीबाट नेपाल बैंक जाने सडकमा प्रहरीले चेकजाँचको क्रममा बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा सो परिमाणको लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नारायण प्रसाद चिमरियाले बताए ।
पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान पछि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने डिएसपी चिमरियाले बताए ।
पक्राउ परेका मध्ये मोजिबुल्लाह रौतहटबाट सञ्चालन हुने रौतहट एक्सप्रेस अनलाइनका सञ्चालक समेत रहेका छन् ।