प्राइम खबर संबाददाता | भदौ ११, २०७८ शुक्रबार
लगातारको वर्षाले नवलपुरका बिभिन्न क्षेत्र डुबानमा परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको गैंडाकोटमा बाढीले डाइभर्सन बगाउँदा पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्ण रुपमा अवरुद्ध भएको हो ।
नारायणगढ - बुटवल सडक बिस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्ण रुपमा क्षति पुगेकाले तत्काल मर्मत गरि सञ्चालन गर्न कठिन रहेको सूचना अधिकारी सिंहले बताए ।
यस्तै गैंडाकोट थुम्सी , भेडाबारी लगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ । बाढीका कारण अन्य डाइभर्सनबाट समेत ओभर फ्लो भएकाले सवारी सञ्चालनमा कठिनाइ रहेको उनले बताए ।
पूर्व पश्चिम राजमार्ग अन्तगत दाउन्नेमा समेत पहिरो गएको छ । दाउन्नेका ठाउँ ठाउँमा पहिरो जादा राजमार्ग अवरुद्ध बनेको छ । प्रहरीको टोली त्यस तर्फ प्रस्थान गरेको भएपनि पहिरो तत्काल हटाउने अवस्था नरहेको जनाइएको छ । अविरल वर्षाका कारण नवलपुरका बिभिन्न ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण हुप्सेकोट ४ मा दुई ओटा घरमा पहिरोका कारण क्षति भएको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको छ ।
अविरल वर्षका कारण कावासोती , गैंडाकोट , देवचुली , मध्यबिन्दु , विनयी त्रिवेणी , हुप्सेकोटका बिभिन्न स्थान डुबानमा परेका छन् । बाढी पहिरो र डुबानका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी सिंहले बताए ।