प्राइम खबर संबाददाता | भदौ १३, २०७८ आइतबार

पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २ जनालाई नियन्त्रणमा लिएको छ।
पर्साको धोविनी गाउँपालिका–२ गुलरिया बस्ने ५० वर्षिय रामपुकार पटेल र भारतको बिहार पश्चिम चम्पारण ईनर्वा बस्ने ४५ वर्षिय बृजकिशोर गिरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । शनिबार साँझ ईलाका प्रहरी कार्यालय जानकी टोल पर्साबाट जगरनाथपुर गाउँपालिका–२ स्थित कार्यालय अगाडी बाटोमा खटिएको नियमित चेकिङ टोलीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेटबिहिन  मोटरसाइकललाई शंका लागि रोकी चेक जाँच गर्दा मोटरसाईकलको सिट मुनि लुकाइछिपाई ल्याएको श्रोत नखुलेको नेपाली १० लाख ६३ हजार ६२० रुपैयाँ र भारतीय १ हजार ६ सय रुपैयाँ फेला परेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
 मोटो रकमसहित पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्  ।