प्राइम खबर संबाददाता | भदौ २४, २०७८ बिहिबार

नेपाली कांग्रेस रौतहटका युवा नेताहरुको सक्रियतामा कोविड सुरक्षा स्वास्थ्य सामग्री तथा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।


महामानव बिपी कोइरालाको १०८ औं जन्म जयन्तीको अवसरमा बिहीबार चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष संजय कुमार काफ्लेको सभापतीत्व तथा नेपाली काङ्ग्रेसका महासमिति सदस्य मिथिलेश मिश्रको प्रमुख आतिथ्यतामा चन्द्रनिगाहपुर सरकारी अस्पतालका मेसु डा. सन्दीप साह, डा. देव कुमार पासवान एवं कोभिड अस्पताल प्रमुख मातृका चालिसेलाई  संयुक्त रूपमा कोभिड सुरक्षा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष श्यमहरी चौलागाईंले बताए ।



कोरोना संक्रमित बिरामीहरूको उपचारमा अहोरात्र खट्दै आएका चन्द्रनिगाहपुर अस्पतालका स्वास्थ्य कर्मचारीलाई आवश्यक पर्ने पीपीई,फेस सिल्ड, ग्लभ्स, मास्क, हेड कभर, गगल्स लगायतका सामाग्रीहरु वितरण गरिएको नेता चौलागाईंले बताए ।



कार्यक्रममा चन्द्रनिगाहपुर अस्पतालमा भर्ना भएर बसेका बिरामीहरुलाई फलफूल समेत वितरण गरियो थियो । अस्पतालमा उपचाररत बिरामीहरूलाई महामानव बिपी कोइरालाको जन्मदिनलाई स्मरण गर्दै फलफूल वितरण गरिएको नेपाली कांग्रेसका नेता सूर्यबहादुर थापाले बताएका छन् ।

अस्पतालमा प्राप्त भएको स्वास्थ्य सामग्रीले धेरै ठूलो राहत पुगेको र पीपीई त झन् अभाव नै रहेको अवस्थामा यस प्रकारको सहयोगले त्यसको परिपुर्ति गरेको हुँदा वर्तमान अवस्थाको लागि कांग्रेसले गरेको सहयोग स्वागतयोग्य रहेको स्वास्थ्यकर्मी मातृका चालिसेको भनाइ रहेको छ ।



कार्यक्रममा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि सुर्यबहादुर थापा, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष श्यामहरी चौलागाईं, नेपाल विद्यार्थी संघका नेता गोपाल हुमागाईं, शत्रुधन महतो, विश्व ठोकर,पत्रकार दिपु मिश्र, लगायत अस्पतालका कर्मचारीहरुको उपस्थिति रहेको थियो।