प्राइम खबर संबाददाता | भदौ २७, २०७८ आइतबार
रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा रहेको सामुदायीक क्याम्पसलाई भर्तीकेन्द्र बनाएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले बिरोध जनाएको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नंबर ६ मा अवस्थित जन ज्योति बहुमुखी क्याम्पस व्यवस्थापन समितिको गत शनिबार बसेको बैठकले क्याम्पसमा नयाँ कर्मचारीको भर्ना प्रक्रिया सुरुवात गर्न समितिले निर्णय गरेको प्रति बिरोध जनाउँदै आईतबार स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासन समक्ष ज्ञापन पत्र पेश गरेको छ ।
कोरोना महामारीको कारण सिंगो देश आक्रान्त रहेको अवस्थामा जन ज्योति क्याम्पस पनि अछुतो नरहेको र क्याम्पसमा उपलब्ध भएका शिक्षकहरूको समेत तलब भत्ता समयमा खुवाउन नसकिरहेको अवस्थामा नयाँ कर्मचारी भर्ना को नाममा कार्यकर्ता भर्ती गर्ने अभिप्रायले नियोजितरुपमा गरिएको निर्णय प्रति गंभीर ध्यानाकर्षण भएको स्ववियुको भनाइ रहेको छ ।
आईतबार एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस व्यवस्थापन समितिले गरेको निर्णय अहिलेको परिस्थिमा प्रतिकूल भई सामुदायीक क्याम्पस माथि आर्थिक भार पर्ने हुँदा यसतर्फ आफूहरु विरोधमा उत्रनुपरेको स्वतन्त्र विद्यार्थी युनियन जन ज्योति बहुमुखी क्याम्पसका सभापति संगम श्रेष्ठले बताए ।
क्याम्पस व्यवस्थापन समितिका सदस्य समेत रहेका श्रेष्ठले उक्त निर्णयमा सच्चिन समितितलाई आग्रह गरेको भएतापनि आफूहरुलाई पेलेर बहुमतको आडमा निर्णय गर्दै क्याम्पसमा कार्यकर्ता भर्ती गर्न खोजेको आरोप लगाए । क्याम्पसमा प्रशासन सहायक कर्मचारीको उपलब्धता हुँदा हुँदै पनि अर्को प्रशासन सहायक पदमा नयाँ दरबन्दी थप गर्ने निर्णय संस्थागत हितमा नभई व्यक्ति विशेषमा लक्षित गर्दै समितिले इच्छाएको व्यक्तिलाई जस्केल ढोका प्रयोग गरेर भर्ती गराउन खोजिएको सभापति श्रेष्ठले बताए ।
समितिले आफ्नो निहित स्वार्थ सिद्ध गर्नको लागि कार्यकर्ता भर्ती गर्ने मनसायका साथ क्याम्पसमा कार्यरत कर्मचारीहरुको समेत प्रतिष्ठामा आँच आउनेगरी गरिएको निर्णय कृतिम पद खडा गरी कार्यकर्ता पोस्ने मात्र योजना भएको हुँदा सो निर्णय तत्काल फिर्ता नलिए कडा संघर्ष गर्ने र त्यसबाट हुने परिणामको सम्पूर्ण जिम्मेवारी क्याम्पस व्यवस्थापन समिति हुने सभापति श्रेष्ठले बताएका छन् ।