प्राइम खबर संबाददाता | भदौ २८, २०७८ सोमबार
नक्कली नोटको कारोबारीमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-९ रामपुर टोल बस्ने २४ वर्षिय सागर शुक्ला, सोही वडाको टेङरहर टोल घर भई विश्रामपुर गाउँपालिका-५ ईटियाही टोल बस्ने २५ वर्षिय राजु कुशवाहा, बाराकै करैयामाई गाउँपालिका-५ बस्ने ३६ वर्षिय विशेश्वर प्रसाद चौधरी रहेका छन् । यसैगरी, रौतहटको गुजरा नगरपालिका-३ बलुवा टोल बस्ने २४ वर्षिय सुनिल कुमार राम र सोही स्थान बस्ने ३६ वर्षिय रविन्द्र कुमार चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
शनिबार दिउँसो निजगढ स्थित तारा ईन होटलबाट उनीहरू पक्राउ परेका हुन् । सो होटलमा कोठा लिई केही दिनदेखी नेपाली नक्कली नोटहरुको कारोबार भइरहेको भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उक्त होटलमा खानतलासी गर्दा होटलको लुम्बिनी कोठाभित्र प्रहरी प्रवेश गर्नसाथ कोठामा रहेका उनीहरू भाग्न खोजेका थिए ।
उनीहरूले झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा नेपाली एक हजार दरको २५ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुले प्रयोग गरेको र सोही होटलमा पार्किङ गरेको बा ९१ प ७४३५ नम्बरको मोटरसाइकल र बा १४ च ९३८२ नम्बर को स्कारपियो गाडी समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका सुनिल कुमार रामको घरमा नक्कली नोट बनाउने कागजातहरू लुकाइ छिपाई राखेको भन्ने जानकारी प्राप्त भएपछी इलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी खानतलासी गर्दा तलासीको क्रममा नेपाली एकहजार दरको नोट आकारको प्रति गड्डी १ सय थान भएको ९३ गड्डी कागज, एक हजार दरको ३९ थान नोट र बीआर ०५ क्यु ४६१० नम्बरको सुपर स्पलेण्डर मोटरसाइकल र प्रदेश २-०३-००१ प ४२६५ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद भएको बारा प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका अभियुक्तहरूलाई मुद्रा सम्बन्धी कसूर मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।