प्राइम खबर संबाददाता | भदौ २९, २०७८ मंगलबार

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको गैंडाकोट-१० स्मृतिपुल नजिकै आज बिहान सवारी दुर्घटनामा हुदा तिन जनाको मृत्यु भएको छ ।


बिहान करिव ४ बजे काकँडभित्ता देखि महेन्द्रनगर तर्फ जादैँ गरेको सु.प्र.-०२-००१ ख ११२३ नं. को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं. को ट्रक एकआपसमा ठक्कर खादा २ जना महिला र १ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसी दिलिप कुमार गिरीले जानकारी दिएका छन् ।



दुर्घटनामा बस सडक देखि अं.१० फिट तल खस्दा ट्रक चालक र बस चालक सहित २७ जना घाँईते भएका थिए । उपचारको लागि चितवन पठाइएकोमा तिनको मृत्यु भएको र ३ जनाको अवस्था गम्भीर रहेको डिएसपी गिरीले बताए ।



  मृत्यु हुनेहरुमा बर्दिया जिल्ला बासवारी नगरपालिका ८ कि ७० वर्षकी योगमाया सुवेदी, कञ्चनपुर घर भएकी ४० वर्षकी रंगी तिवारी र कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने बर्ष ३०-३५ को कृष्ण राना रहेको प्रहरीले जनाएको छ । सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मध्ये १६ जना मध्यम र ५ जना सामान्य अवस्थामा रहेका छन् । उनिहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।