प्राइम खबर संबाददाता | असोज १२, २०७८ मंगलबार
कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा आज विहान यात्रुबाहक बस र विङ्गर गाडी ठोकिँदा नौ जना यात्रु घाइते भएका छन् ।
रुकुमबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा ४ ख २४४८ नम्बरको बस र लु १ ज ३००६ नम्बरको विङ्गर मंगलवार विहान ५ः३० बजे ठोकिएका थिए । दुर्घटनामा परी नौ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा विङ्गर चालक बाणगंगा नगरपालिका ८ का वर्ष २३ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक रहेका छन् ।
यसै गरी बसमा सवार रुकुमका वर्ष २४ का पवन घर्ति मगर र वर्ष २३ का अर्जुन बुढा मगर अवस्था समेत गम्भीर रहेको छ ।
अवस्था गम्भीर रहेकाहरुको थप उपचारको लागि बुटवल लगिएको र सामान्य घाइतेको कपिलवस्तु सामुदायीक अस्पतालमा उपचार भैरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।