प्राइम खबर संबाददाता | कात्तिक २२, २०७८ सोमबार

आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठपर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ ।


व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा रहेको छ । छठपर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यसका लागि कात्तिक शुक्लपक्ष लाग्नेबित्तिकै व्रतीले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाने गरिँदैन ।



छठपर्वको पूजन एवं तयारीका क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र कुनै प्रकारको व्यवधान जानी वा नजानी गरिएमा अनिष्ट हुने निश्चित मानिएको छ ।

छठपर्व विशुद्धरूपमा प्रकति र पुरूषको पूजा हो । सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ । झट्ट हेर्दा यो सूर्यको पूजाझैँ देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैठो अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा रहेको छ ।



 देवी भागवतमा षष्ठी देवीले पुत्रहीनलाई पुत्र प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ ।