प्राइम खबर संबाददाता | कात्तिक २२, २०७८ सोमबार
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित नेवारपानी नजिक बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । आठ जना अरु पैदलयात्रु समेत घाइते भएका छन् ।
बसको ठक्करबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी बस्ने २० वर्षको सुरज विष्ट र चितवन पिप्ले–३ बस्ने ३४ को प्रेम बहादुर सिंह ठकुरीको मृत्यु भएको हो । घाइते आठजना मध्यमा पाँच जनाको चुरेहिल अस्पताल र अरु तीन जनाको चितवनमा उपचार भएको हो ।
बसले ठक्कर दिएपछि आक्रोशित स्थानीय वासिन्दाहरुले बस जलाएका छन् । बसमा लागेको आगो नियन्त्रणमा लिन दमकल पुगेपछी त्यसलाई समेत तोडफोड गर्न खोजेपछी प्रहरीले लाठीचार्ज गरेको थियो । लाठिचार्ज गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमाल समेत घाइते भएको प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए ।
हेटौंडाबाट नारायणगढ तर्फ जादै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको महानता एसी नामक रात्रि बसले देउसी खेल्न हिडेका पैदल यात्रुलाई ठक्कर दिदा पैदलयात्रु स्थानीय दुईजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । आगजनीबाट बस पुर्ण रूपमा जलेर नष्ट भएको छ । ठक्कर दिने उक्त तिब्र गतिको बस रौतहटको गौरबाट काठमाडौंको लागि छुटेको हो ।