प्राइम खबर संबाददाता | कात्तिक २५, २०७८ बिहिबार
रौतहट जिल्लाको चन्द्रपुर स्थित चाँदी नदी किनारमा अस्ताउँदै गरेको सूर्यलाई पूजा आराधना गर्दै अर्घ दिएर व्रतालु हरुले छठ मनाइएका छन् । छठ मनाउनका लागि चाँदी नदी किनारको सजावट आकर्षक बनाइएको छ । चाँदी नदी किनारमा छठ मनाउने र छठको रमाइलो हेर्न जानेको बाक्लो उपस्थिति गत वर्षको तुलनामा व्यापक देखिएको हो ।
यसवर्ष भने छठी माताको भजन किर्तन अनि संगीतले चाँदी नदी किनारको रौनक नै बदलिदिएको थियो।
छठपूजाको क्रममा गाइने पारम्परिक गीतसंगीत र बाजा बजाइएको उक्त स्थानमा छठको पूजागर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठकुवा, फलफूल, वतासा मिठाईजस्ता सामग्रीहरु लिएर समूहगत रुपमा पूजाअर्चना गरेको दृश्य पनि देख्न सकिन्छ ।
तराइबासीले हर्षोउल्लासका साथ मनाउने विशेष पर्व छठमा पछिल्लोसमय अन्य समुदाय र क्षेत्रका बासिन्दा पनि उत्तिकैरूपमा सामेल भएर रमाउने तथा पूजाअर्चना गर्न थालेका छठ पूजा समितिका संयोजक सुरेन्द्र प्रसाद साहले बताए ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको किम्बदन्ती रही आएको छ ।