प्राइम खबर संबाददाता | मंसिर ५, २०७८ आइतबार
पर्सा प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धोविनी गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय दिवाकरकुमार साह रहेका छन्।
भारतको भिश्वा सिमानाका हुँदै नेपालतर्फ आउँदै गर्दा नाकामा सवारी चेकजाँच गर्ने क्रममा ना ४५ प ११६४ नम्बरको मोटरसाइकलमा सवार साहलाई शंकास्पद अवस्थामा रहेकाले चेकजाँच गर्दा एकहजार ३ सय ५० थान लागूऔषध बरामद गरेको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले बताएका छन्।
साहको साथबाट नुर्फिन, डाइजेपाम र प्रोमी फाइजाम हाइड्रोक्लोराइड ४५० र ४५० थान गरी एकहजार ३ सय ५० थान लागूऔषध बरामद भएको खनालले बताए ।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयमा राखी यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलको पछाडि सवार भएका एकजना भने भाग्न सफल भएको छ । फरार भएको उनको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।