प्राइम खबर संबाददाता | मंसिर १७, २०७८ शुक्रबार
रसुवा जिल्लाको चारवटा गाउँपालिकामा फोटोसहितको मतदाता नामावली संकलनको कार्य सुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रसुवाले दर्ता गर्नेकर्मचारी खटाई शुक्रबारदेखि मतदाता नामावली संकलनको कार्य सुरू गरेको हो । जिल्लाको नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा मतदाता नामावली संकलनको कार्य सुरू भएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी विनिता भट्टराईले जानकारी दिइन् ।
यी दुई गाउँपालिकामा अबको १० दिनसम्म मतदाता नामावली संकलन गरिने भएको छ । त्यसैगरी जिल्लाको उत्तरगया र कालिका गाउँपालिकामा भने २९ मंसिरदेखि मतदाता नामावली संकलनको कार्य सुरु हुने भट्टराईले बताइन् । मतदाता नामावली संकलनका लागि दर्ता कर्मचारी, दर्ता स्थल व्यवस्थापक र सहायक कर्मचारीलाइ तालिम दिएर खटाइएको उनले बताइन् ।त्यसैगरी जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय भएको गोसाइँकुण्ड गाउँपालिकामा भने मतदाता नामावली संकलनको काम अभियान स्वरुप अघि नबढाइने भएको छ ।
निर्वाचनको मिति घोषणा नभएसम्म जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय रसुवामा निरन्तर मतदाता नामावली संकलनको कार्य हुने जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । स्थानिय तथा संघमा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल पनि सकिँदैछ ।