प्राइम खबर संबाददाता | माघ २४, २०७७ शनिबार
रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा मेयर कप प्रदेश नं. २ एन्फा लीग फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रदेश फुटवल संघ प्रदेश नं. २ को आयोजना र चन्द्रपुर नगरपालिकाको सहयोग अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम तथा रौतहट जिल्ला फुटबल संघको समन्वयमा सो प्रतियोगिता हुन लागेको हो ।
उक्त फुटबल प्रतियोगितामा प्रदेश नं. २ का ८ वटै जिल्लाका टिमले सहभागीता जनाउँदै छन् । माघ २६ गते देखि सुरु हुने खेल फागुन ७ गते सम्म संचालन हुने र उक्त खेलमा विजेता टिम लाई नगद २ लाख र उप विजेता हुने टिम लाई एक लाख नगद को पुरस्कार राशीको व्यवस्था गरिएको आयोजकले बताएको छ ।
शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश नंबर २ का फुटबल संघका अध्यक्ष नेपाल कार्कीले प्रतियोगिताको तयारी पुरा भैसकेको जानकारी गराएका छन् । उनले एन्फाको क्यालेण्डर अनुसार ७ वटै प्रदेशमा प्रतियोगिता हुन लागेको बताउँदै प्रदेश नं. २ को भने चन्द्रपुर नगरपालिका वडा नं. ६ स्थित शेर बहादुर दर्लामी स्मृति हातेमालो खेल मैदानमा हुने कार्कीले बताएका छन् ।
खेल अवधिका प्रत्येक खेलाडीलाई जनही आठ सयका दरले भत्ताको साथै यातायात खर्च समेत सुविधा रहेको अध्यक्ष कार्कीले जानकारी दिएका छन् । टिम तयारीका लागि प्रत्येक जिल्लालाई ५० हजार रकम समेत व्यवस्था भएको लीग प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ५ हजार नगद तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई एक थान यामाहा मोटरसाईकल पुरस्कार समेत रहेको छ ।
उक्त लीग फुटबल प्रतियोगिताको अनुमानित खर्च ६० लाख लाग्ने हुँदा एन्फाबाट ३० लाख र चन्द्रपुर नगरपालिकाबाट ३० लाख सहयोग उपलब्ध हुने पत्रकार सम्मेलनमा बताईएको छ ।
चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना का कारण खेल प्रतियोगिता हुन नसकेको बताउँदै हाल कोरोनाको प्रभाव कम भएकाले अहिले सहज भएको हुँदा खेलकुद कार्यक्रमका गतिविधि आघि बढेको बताएका छन् । चन्द्रपुर नगरपालिकाले खेलमा लगानी गरेको र यसलाई व्यवसायिकता बनाउन खोजेको मेयर चौधरीको भनाई छ ।
लीग चरणको आधारमा हुने प्रतियोगिताको समुह (क) अन्तर्गत मनकामना युवा क्लव रौतहट, शम्भुनाथ युवा क्लव सप्तरी, पर्सा फुटवल क्लव पर्सा, मअुवा देवी युवा क्लव बारा रहेका छन् भने समुख (ख) अन्तर्गत हिम कस्तुरी युवा क्लव सिरहा, यज्ञभुमी युवा समाज धनुषा, बैकखाडी युवा क्लव महोतरी तथा युनिभर्सल युवा क्लव सर्लाहीका टिम सहभागी हुने एन्फा प्रदेश नम्बर २ का अध्यक्ष नेपाल कार्कीले बताएका छन ।