प्राइम खबर संबाददाता | मंसिर १९, २०७८ आइतबार
रौतहटका स्थानीय तहमा अहेव र कबिराजको हालिमुहाली बढदै गएको छ । १८ पालिकामध्ये एक तिहाई पालिकामा स्वास्थ्यकर्मी नै निमित्त प्रमुख प्रशासकीय अधिकृत बनेका छन्।
उप सचिव र शाखा अधिकृतको दरबन्दी रहेका जिल्लाका नगरपालिका र गाँउपालिकामा जनप्रतिनिधिको मिलेमतोमा अहेव र कबिराजलाई हाकिम बनाएर लुटतन्त्र मच्चाउने काम भएको भन्दै चर्को बिरोध हुँदै आएको छ ।
यतीबेला स्थानीय तहमा स्वास्थ्यका कर्मचारीहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने होड नै चलेको छ ।
स्थानीय तहका निर्वाचित प्रमुखको नजिकका स्वास्थ्य कर्मचारीहरुले धमाधम निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् ।
नगरपालिकामा उपसचिवस्तरको प्रशासकीय प्रमुख हुनुपर्नेमा रौतहटका अधिकांश पालिकामा नियमानुसार कार्यालय प्रमुख छैनन् ।
स्वास्थ्य क्षेत्रका कर्मचारीहरुले त झन् स्थानीय तहको प्रशासनिक नेतृत्व गरिरहेका छन् ।
केहीदिन पहिला देखि माधव नारायण नगरपालिकामा जियालाल राय यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । गत छ वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका प्रलभ कायस्थको सरुवा भएपछि मेयरको गाउँकै स्वास्थ्यकर्मीले नपाको प्रशासन हाँक्ने जिम्मेवारी पाएका हुन् ।
राजदेवी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा सुबोध साह, बौधीमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा रामेश्वर यादव, गरुडा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा रामबाबु यादव र गुजरा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा विनोद जयसवाल रहेका छन् ।
जिल्लामा रहेका दुई गाउँपालिका मध्ये दुर्गा भगवती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा परमानन्द पाठक र यमुनामाई गाउँपालिकाको प्रमुख प्रशासकीय प्रमुखमा परमानन्द पाठक रहेका छन् ।
स्थानीय तहको निर्वाचन आउन थालेको समयमा आफूले अह्राएको मान्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकांश पालिकाका निर्वाचित प्रमुखहरुले खोजिरहेका छन्। शिक्षामा प्रथम श्रेणीको शिक्षक रहेको ठाउँमा पनि स्वास्थ्यका पाँचौबाट छटौँ तहमा बढुवा भएका तृतीय श्रेणीका स्वास्थ्य अधिकृतहरुले पालिका चलाइरहेका छन् । प्रशासनमा दक्ष कर्मचारी एबम् उपसचिब सरहका कर्मचारी नहुदा पालिकाको कार्यसम्पादनमा ढिलाई एबम् अनियमितता बढ्दै गएको स्थानियहरु बताउछन् । स्वास्थ्यका कर्मचारीले निमित्त पाएको पालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृतहरु कार्यालय समयमा उपस्थित नहुने हुदा सेवाग्राहीले समस्या भोग्दै आउनु परेको गुजरा नगरपालिकाका एक सेबाग्राही बताउछन् ।