प्राइम खबर संबाददाता | पुस ३०, २०७८ शुक्रबार

रौतहट सदरमुकाम गौरमा शुक्रबार जनमत पार्टीका कार्यकर्ताहरुले हलो जुवा, टायरगोरु लिएर  सरकार विरुद्ध  प्रदर्शन गरेका छन् । जनमत पार्टीको आहवानमा गाउँ गाउँबाट किसानहरु सहित पार्टीका कार्यकर्ताहरु हातमा हलोजुवा, टायर गोरु सहित आएकाहरुले संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार विरुद्ध चर्का नाराबाजी गर्दै  विरोध रयाली प्रदर्शन गरेका हुन् ।


 किसानहरुको समस्यालाई लिएर आन्दोलन गरिरहेको जनमत पार्टीका केन्द्रीय सदस्य ललित मल्लिक सानुको नेतृत्वमा निस्किएको रयाली गौर स्थित बीपी चोकबाट सुरु भई धर्खन चोक, नेपाल लज, ट्रान्समिटर चोक, भन्सार कार्यालय भएर गौर नगरपरिक्रमा गरी पुन  विपी चोकमा आएर कोणसभामा परिणत भएको थियो।  रासायनिक मल र बिउ बिजनको अभावमा कतिपय किसानहरुको खेत अझै बाँझो रहेको र नगदे बालीको रुपमा रहेका उखु किसानको बक्यौता रकम तथा उचित मूल्य निर्धारण हुन नसक्दा नेपाली किसानहरु खेतीपाती गर्नबाट विस्थापित भई पलायन हुने अवस्थामा पुगेको हुँदा अविलम्ब यहाँका किसानहरुको वारेमा उचित सम्बोधन गर्न जनमतका जनमतले माग गरेको छ ।

 यसैगरी किसान आन्दोलनको क्रममा घाईते भएका अंगभंग भएका किसानहरुलाई यथोचित उपचारको व्यवस्थापन गरेर किसान संग वार्ताको बाताबरण मिलाउन सरकारसँग आग्रह जनमतको रहेको छ । माग सम्बोधन नभए सशक्त आन्दोलन सुरु गर्न समेत पछि नपर्ने सानुले बताए । 
जनमतले शुक्रबार सदरमुकाम गौरमा गरेको प्रर्दशन तथा र्यालीलाई महार्यालीको संज्ञा दिएको छ ।