प्राइम खबर संबाददाता | माघ १४, २०७८ शुक्रबार
दार्चुलाको हिमाली क्षेत्रमा दुई देखि दिन बाक्लो हिमपात भएको छ । बाक्लो हिमपातपछि यहाँको जनजीवन समेत कष्टकर भएको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन भएको बताएका छन् । 'परेको हिउँ पगालेर पानी खाएर बसेका छौँ, पानी भर्न जान पनि दुई फिट बढी हिउँ जमेको छ, पानीको पाइप पूरै बरफ बनेको छ, पानी खाने विकल्प नभएपछि हिउँ पग्लाएर पानी बनाउँदै, पिउँदैछौँ ' एक सुरक्षाकर्मीले भने ।
अत्यधिक चिसो बढेका कारण बिहानदेखि रातिसम्म आगो तापेर दैनिकी बिताउनुपरेको उनिहरु बाताउछन् । यस क्षेत्रमा हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँमा एक जना चौकीदार छन् । यस क्षेत्रमा गत वर्षदेखि सशस्त्र प्रहरी बस्न थालेको हो । जिल्लाको अपिहिमाल, नौगाड, मार्मा, दुहूँ, व्यास र मालिकार्जुन गाउँपालिकाको उच्च भू–भागमा भारी हिमपात भएको बताईएको छ । मालिकार्जुनमा पनि लामो समयपछि हिमपात भएको स्थानीय गणेश सिंह धामीले जानकारी दिएका छन् ।
हिमपातका कारण सडक हिलाम्मे र चिप्लो भएको कारण अहिले यो क्षेत्रको सडकमा गाडी चलाउनसमेत समस्या भएको स्थानियहरु बताउछन् । चिसोका कारण यस क्षेत्रका स्थानीयवासीलाई घर बाहिर निस्कन समेत समस्या भएको छ । स्थानीयवासीले हिउँ पगालेर पानी पिउनुपर्ने अवस्थाको सिर्जना भएको स्थानियबासीको भनाई रहेको छ ।