प्राइम खबर संबाददाता | माघ २३, २०७८ आइतबार

मधेश प्रदेशको   पर्सा जिल्ला स्थित  धोबिनी गाउँपालिकाका सम्बन्धमा चर्चामा रहेका विषयहरुका बारेमा पालिकाका अध्यक्ष सुरेशप्रसाद कुर्मीले गम्भीर खुलासा गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् । 
    शुक्रवार उनले एउटा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘धोबिनी गाउँपालिकाको कार्यपालिका सदस्य वडा नम्बर एक घर भएकी श्रीमति शान्ति देवीले पेश गरेको योजना अनुसार पाँच लाख रुपैयाँ बराबरको विद्युत मोटर किसानलाई बितरण गर्नुपर्ने चालु आर्थिक वर्षको कार्यक्रममा रहेको थियो । सार्वजनिक खरिद ऐनको पालना गर्दै प्रतिस्पर्धाबाट सो सामान खरिद गर्नुपर्ने जनप्रतिनिधिको आग्रहको बेवास्ता गर्दै, प्रमुख प्रसाशकीय अधिकृत राजुप्रसाद साहले कमिशनका लागि बिना प्रतिस्पर्धा मोटर खरिद गरेपछि जनप्रतिनिधिहरु  आक्रोशित भएका छन् ‘ उनले भने । 
प्रमुख प्रसाशकीय अधिकृत साहले बिरगंज पोखरियाका राजु गिरीलाई सो खरिद आदेश दिएको खुलेको छ । गिरी अधिकृत साहको नातामा मितेरी साइनो पर्ने बुझिएको छ ।  प्रशासकीय अधिकृत साहले कार्यपालिका सदस्य शान्तिदेवीको राजनीतिक पतिस्पर्धीसंग सो सामग्री आफुखुसी बितरण गर्न लगाएको हुँदा कर्मचारीले समेत  आफ्नो पेशागत धर्मबिपरित प्रत्यक्ष रुपमा राजनीति गरेको प्रमाणित हुन गएको गाउँपालिका प्रमुख कुर्मीको आरोप छ । 
उक्त प्रकरणमा कार्यपालिका सदस्य शान्तिदेवी गाउँपालिका कार्यालयमा माघ १२ गते जानकारी लिन जाँदा योजना शाखाको कर्मचारी पप्पु पटेलले प्रसशाकीय अधिकृत साहको आदेशमा उनलाई अभद्र ब्यवहार गरेको गाउँपालिका प्रमुख कुर्मीले बताए । उनका अनुसार भोलिपल्ट १३ गतेका दिन कार्यपालिका सदस्य शान्तिदेवी भद्रभलादमीहरु तथा आफ्ना श्रीमान धरमन राउत कुर्मीलाई समेत लिएर सो सम्बन्धमा बुझन जाँदा योजना शाखाको कर्मचारी पटेलले  शान्ति देवीका श्रीमान माथि समेत जाइलागेको गाउँ प्रमुख कुर्मीको आरोप रहेको छ ।
कर्मचारीको अभद्र व्यवहार एबम् सो सम्बन्धमा भएका गतिविधिहरूको  दृष्य कार्यालयको सिसिटिभी क्यामरामा कैद भए पनि योजना शाखाका कर्मचारी पटेलले प्रशासकीय अधिकृत साहको इशारामा त्यसको फुटेज नष्ट पार्ने कामसमेत गरेको आरोप उनको रहेको छ ।  
  गाउँपालिकामा भएको भ्रष्टाचारको छानवीन गर्न र जनप्रतिनिधि लगायतलाई दुर्व्यवहार  गर्ने माथि  आवश्यक कारवाही गर्न शुक्रवार धोबिनी गाउँपालिकाका जन प्रतिनिधिहरू  जिल्ला प्रशासन कार्यालय पर्सामा  जाहेरी  दिने निर्णय भएको गाउँ प्रमुखले बताए । प्रमुख प्रसाशकीय अधिकृत साह  गाउँपालिका कार्यालयमा नियमित रूपले उपस्थित नहुने  गरेको,  पालिकाका प्राय  कार्यहरु वीरगन्जमैं बसेर गर्ने गरेको जनप्रतिनिधिहरूको आरोप रहेको छ । उक्त गाउँपालिकाका जनप्रतिनिधिहरु अधिकृत साहको  वीरगन्ज स्थित उनको   कोठाबाट गाउँपालिकाको कामकाज गर्ने भएको हुँदा उक्त उनको कोठा  छाया कार्यालयको  संज्ञा दिँदै अधिकृत साहको गतिविधि गाउँपालिका हितमा नभएको बताउँछन  ।


            गाउँपालिका अध्यक्षको विज्ञप्ति