प्राइम खबर संबाददाता | चैत १२, २०७८ शनिबार
रौतहट जिल्लाको चन्द्रपुर स्थित जल्दा ऐलानी बस्तीमा भिषण आगो लाग्दा तीन घर जलेर नष्ट भएको छ । वडा नंबर ६ स्थित रहेको रंगपुर साझेदारी बनको क्षेत्रमा अतिक्रमण गरी बनाइएका बस्तीमा नजिक जोडिएर रहेको वनमा लागेको डढेलोको आगो सल्किएर स्थानीय निराश राय यादवको गोठघर सल्किएर पूर्ण रूपमा क्षति भएको हो । यादवले गोठमा राखेका अन्नपात लगायत घर बनाउन राखिएको काठपातहरु समेत जलेर पूर्ण रूपमा नष्ट भएको बताएका छन् ।
आगलागी भएको खबर प्राप्त भएपछि समेत नगरपालिकामा मौजूदा रहेको दमकल समयमा नै घटना स्थलबाट पुग्न नसक्दा सो स्थानका तीन वटा घरगोठहरु जलेर नष्ट भएका छन् । शनिबार मध्यान्हबाट लागेको चर्को हुरी सँगै फैलिएको बन् डढेलोले तिब्र रुपमा गति लिँदा स्थानीयको घरसम्म पुगेको प्रत्यक्षदर्शीहरु बताउँछन् । आगलागीको सूचना प्राप्त भए लगत्तै पुगेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी टोली, शसस्त्र प्रहरी बेस क्याम्प सन्तपुरको प्रहरी टोली स्थानीयवासी लगायतको उपस्थितिमा आगो नियन्त्रणमा आएको नेपाली कांग्रेसका युवा नेता श्यामहरी चौलागाईले बताए ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लीला राज लामिछानेको समेत आफै आगो नियन्त्रणका लागि खटेर आगो नियन्त्रणका लागि गरेको प्रयासको स्थानीयले समेत प्रशंसा गरेका छन् । आगोले उग्र रुप लिएपछि आइपुगेको चन्द्रपुर नगपालिकको दमकल सहित स्थानीयले बाल्टिन, मोटर आदिले पानी पटाउँदै नियन्त्रणमा आएको आगो अन्य घर तथा बस्तीमा समेत सल्कनबाट जोगिएको स्थानीयले बताए ।
वनमा समेत लागेको भिषण डढेलो नियन्त्रण गर्न साझेदारी बन्नर सामुदायीक बनले दर्जनौ कर्मचारी करारमा भर्ना गरेको भएता पनि बनका कोही कर्मचारी उपस्थित नरहेका स्थानीयहरुले बताएका छन् । सोही वनमा लागेको डढेलो समेत स्थानिय र प्रहरीको संयुक्त प्रयासबाट निभाइएको थियो ।
आगलागीबाट लगभग पाँच लाख बढीको क्षति भएको स्थानीयले प्रारम्भिक अनुमान गरेका भएपनि घटनाको पूर्ण विवरण आइनसकेको प्रहरी श्रोतले जनाएको छ ।