प्राइम खबर संबाददाता | चैत १४, २०७८ सोमबार
काठमाण्डौ ट्राभल र टुर व्यवसायीहरूको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को बुधवार हुने निर्वाचनका लागि रमेश थापा नेतृत्वको व्यावसायिक प्यानलले रमेश थापा समूह’को नामबाट आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।
सोमवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी थापा नेतृत्वको प्यानल सार्वजनिक गरेको हो । थापा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल,उपाध्यक्षमा बरुण मेहता, महासचिवमा कुमारमणी थपलिया उम्मेदवार भएका छन् ।
त्यस्तै सचिवमा युविका भण्डारी,कोषाध्यक्षमा राजकुमार देवकोटा,सह कोषाध्यक्षमा राजा शाक्य छन् भने कार्यकारी समिति सदस्यका लागि ढकनाथ काफ्ले, नमराज भेटवाल , प्ररशुराम घिमिरे, राम शोभित नायक , डेन्डी शेर्पा, महेश कोइराला दिपक ,श्रद्धा जोशी र सवला भण्डारी रहेको रमेश थापा नेतृत्वको समूहले कार्यक्रम मार्फत घोषणा पत्र सहित प्यानल बारे जानकारी दिएको छ।
रमेश थापा समुहले कोभिड महामारीपछि ट्राभल तथा टुर अपरेटर तथा व्यवसाय धराशायी भएको भन्दै आफूहरूले जितेपछि गरिने कामहरू सहितको घोषणापत्र समेत सार्वजनिक गरेको छ ।
सरकारले एक बर्षको लागि दिएको कर छुटले हामी माथि उठन नसक्ने भएकोले सरकारले कम्तीमा पाँच बर्ष सम्म करमा छुट दिनु पर्ने र तत्काल व्यवसाय प्रवर्द्धन गर्न नाटा सेल्स मिसन आयोजना गर्ने साथै लामो समयदेखि समस्यामा रहेको पर्यटक बस पार्कको समस्या समाधान गर्न सम्बन्धित निकायसँग सहकार्य गरी काठमाडौंमा पर्यटक बसपार्क निर्माण गर्न नेतृत्वदायी भूमिका खेल्ने थापाले बताए ।