प्राइम खबर संबाददाता | चैत २१, २०७८ सोमबार

स्थानीय तहको निर्वाचनको मिति दिन प्रतिदिन नजिकिँदै गएको छ । निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलमा उम्मेदवारी चयनको विषय सकस नै बन्दै गइरहेको अवस्थामा चन्द्रपुर नगरपालिकामा कुन पार्टीबाट कस कसले टिकट पाउला भनेर चोक, चौतारामा बहस नै चलिरहेको हुन्छ। 
यसैबीच चन्द्रपुर नगरपालिकामा अन्य पार्टीमा उम्मेदवारको खडेरी परेको अवस्थामा नेपाली कांग्रेसको उमेद्वार बन्ने आकांक्षी हरुको भीडमा युवा नेता एवम् सफल व्यवसायी अरुण लामाले नगर प्रमुखमा आफ्नो उम्मेदवारी दाबी गरेका छन् ।
युवा नेता समेत रहेका लामा चन्द्रपुरमा चर्चित समाजसेवी युवाको रूपले चिनिन्छन् । उनी होटल व्यवसायि संघ रौतहटका जिल्ला अध्यक्ष समेत हुन् । खेलकुद,राजनीति,समाजसेवा र व्यवसायमा समेत अब्बल मानिने युवामाझ लोकप्रिय उनी नेपाली कांग्रेसको तर्फबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा चन्द्रपुर वडा नम्बर ६ बाट वडा अध्यक्षको रूपमा लोकप्रिय आकांक्षी र सर्वाधिक जनमत प्राप्त संभावित उम्मेदवार रहेका थिए तर पार्टीका केही नेताको बदमासीका कारण उनले पाउनुपर्ने टिकट खोसिएको हुँदा कांग्रेसले सो वडामा नराम्रो पराजयको सामना गर्नु परेको थियो । तत्कालीन निर्वाचनमा वडामा सबैभन्दा चर्चित र वडा बासीले रुचाइएका लामालाई अन्याय भएको भन्दै अधिकांस कांग्रेस कार्यकर्ता रुष्ट बनेका थिए ।
हाल उनले वडामा आफ्नो दाबी नरहेको र आफ्नो वडा सहित नगरको १० वटै वडामा कांग्रेसलाई जिताउन समेत आफ्नो उम्मेदवारी महत्वपूर्ण हुने उनको भनाइ रहेको छ । नेता लामा स्वच्छ छवि भएका लोकप्रिय र अन्य कम्युनिस्ट पार्टीका कार्यकर्ताको समेत रोजाइमा पर्ने व्यक्ति मानिन्छन् । नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेका उनी ४६ सालको पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन बाट राजनीतिमा प्रभावित भई राजनीतिमा सक्रिय रहेका छन्। उनी नेपाली कांग्रेसको हरेक कार्यक्रमममा सहभागी हुने मध्येका एक मानिन्छन् । 
आफ्नो जीवनमा निकै संघर्ष गर्दै आएका उनी  अहिले एक सफल व्यवसायी समेत भएर हजारौं हजार युवाका प्रेरणाका स्रोत समेत रहेका छन्। उनी जन आन्दोलन ६२/६३ को आन्दोलनमा अग्र भागमा कांग्रेसको चार तारे झण्डा बोकेर  उभिदै चन्द्रपुर चोकमा राजतन्त्रको विरोधमा उत्रिएका थिए।  व्यवसाय सँगै राजनीतिमा समेत क्रियाशील रहेका उनी भन्छन “ चन्द्रपुरमा दिगो विकास भएको हेर्ने इच्छा थियो तर नेतृत्वको कारण नीति समेत प्रभावित हुने रहेछ कांग्रेसको बहुमत नहुँदा कम्युनिष्टको इसारामा चलेको नगर ४ वर्षमा खास प्रगति हुन सकेन सक्षम नेतृत्व नपाएको चन्द्रपुर लागि  पार्टीले जिम्मेवारी दिए आमूल परिवर्तनको संवाहक बनेर लागि पर्ने छू ।“ 
पार्टीको १४ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि समेत निर्वाचित भएका उनी भन्छन  “ कम बोलेर धेरै काम गर्नु छ, पार्टीले सहि मुल्यांकन गरेर चन्द्रपुर नगरको भाग्य, भविष्य कोर्ने जिम्मेवारी मलाई दिन्छ भने चन्द्र्पुर नगरका बासिन्दाको सुखमा मात्र नभई दुखमा पनि हातमा हात मिलाइ पार्टीले दिएको जिम्मेवारीको सहि सदुपयोग गर्नको लागि पछी हट्ने छैन ।“ जिल्ला कांग्रेसमा आफू अनुकुलको नेतृत्वसँग मेयर पदको टिकटको आकांक्षीहरु लविङ्गमा व्यस्त रहेको बेला युवा नेता लामाको दाबिले धेरैको टाउको दुखाईको विषय बनेको कांग्रेस कार्यकर्ताहरु बताउँछन्। 
नेता लामाको दावेदारी कायम रहे र उनले कांग्रेसको उम्मेदवार बन्न आधिकारिक टिकट पाउँदा कम्युनिष्टको समेत  हलचल मच्चिने हुँदा उनको पल्ला भारी हुने अधिकांस कांग्रेसको बुझाइ रहेको छ।

​​​​​