प्राइम खबर संबाददाता | जेठ ११, २०७९ बुधबार
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सञ्जय कुमार काफ्लेले पदभार ग्रहण गरेकै दिन सबै भन्दा पहिलो जनहितकारी निर्णय नगरपालिकाको प्रमुखको हैसियतमा गरेका छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर काफ्लेले नगरवासीको प्रमुख समस्याको विषय रहेको चन्द्रनिगाहपुर अस्पतालको स्तरोन्नति गर्न विशेष निर्णय समेत गरेका हुन् । अस्त व्यस्त को अवस्थामा रहेको अस्पतालमा नागरिकहरुलाई सरल र सुलभ तरिकाले सेवा प्रदान गर्न नव निर्वाचित मेयर काफ्लेले जनताको स्वास्थ्य सेवाको लागि अस्पतालमा आवश्यक भिडियो एक्सरे मेसिन, एक्सरे मेसिन, ईसीजी मेसिन लगायत ल्याबमा आवश्यक कुल्टर मेसिन र एनालाइजर मेसिन खरिद गर्न आदेश गरेका हुन् ।
सोमबार सपथ ग्रहण गरेका मेयर काफ्लेले बुधबार पदभार ग्रहण कार्यक्रममा सम्वोधन गर्दै आफु जनताको मालिक बनेर होइन सेवक बनेर काम गर्न इच्छुक रहेकोले जनतालाइ सहयोग गर्न नगरपालिकाका कर्मचारीहरुलाई समेत आग्रहका साथ निर्देशन समेत दिएका छन् । विगतमा आफू वडा अध्यक्ष भएर काम गर्दा जनताको सेवामा खटेर कार्य गर्दै आएको र सो कार्यको मूल्याङ्कन गर्दै नगरबासीले समेत यो जिम्मेवारी दिएका उनले बताएका छन् । जनताले दिएको जिम्मेवारी इमान्दारितापुर्वक निष्ठावान भई निर्वाह गर्ने समेत प्रतिबद्धता उनले जनाएका छन् । मेयर काफ्लेको जनपक्षिय निर्णयले चन्द्रपुर नगरपालिकाका स्थानीयहरु खुसी हुँदै प्रशंसा गर्न लागेका छन् ।
जनताको कार्यको लागि जुन सुकै बेला तयार रहने बताउदै मेयर काफ्लेले शिक्षा ,स्वास्थ्य, सरसफाई र अव्यवस्थित पार्किङको समस्यालाई नगरको प्रमुख समस्याको रूपमा आफूले देखेको र यी कुरालाई प्रमुख प्राथमिकतामा राखेर समस्या समाधान तर्फ आफू अग्रसर रहेको बताए । नगरपालिकाको विकासको लागि कर्मचारीहरुको भूमिका समेत महत्वपूर्ण भभएकोले जनताको कार्यमा ढिला सुस्ती नगरी कार्य गर्न समेत निर्देशन दिएका छन् । नगर उपप्रमुख जयमाला कुमारी चौधरीले पनि बुधबार नै पदभार ग्रहण गरेकी हुन् ।