प्राइम खबर संबाददाता | जेठ २७, २०७९ शुक्रबार

डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीहरुले पाउनु पर्ने सेवा सुविधा बाट बन्चित गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।

वन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत अधिकृत, रेञ्जर, फरेष्टर, वनरक्षक, जम्दारलगायतले पाउनुपर्ने सेवा सुविधा बापत कट्टी गरिएको झन्डै ६० लाख रुपियाँ कार्यालय प्रमुखबाटै अपचलन भएको भन्दै कर्मचारी आन्दोलित भएका हुन्।

१८ महिनादेखिको संचय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी रकम दाखिला नगरेको भन्दै डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीले आन्दोलन गरेका हुन् ।

१ सय १० जना कर्मचारीको सेवा सुविधा बापत कट्टी गरिएको झण्डै ६० लाख रुपियाँ दाखिला नगरी अपचलन गरेको भन्दै उनीहरू कार्यालयको मुख्य गेटमा ताला लगाएरआन्दोलनमा उत्रेका हुन्।

कर्मचारीले पाउनुपर्ने सेवा सुबिधा गैरजिम्मेवार भएर बञ्चित गरिएको भन्दै उनीहरूले जबसम्म उक्त रकम दाखिला हुँदैन, तबसम्म कामकारबाहीमा नफर्किने बताएका छन् ।

मधेस प्रदेश सरकार अन्तर्गत रहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको प्रमुखको गैरजिम्मेवारीका कारण कर्मचारीहरू आन्दोलित भएका हुन् । डिभिजन बन प्रमुख अमरदेब यादवप्रति आक्रोशित कर्मचारीहरू भन्छन्, वन प्रमुखको व्यवहारले कर्मचारी मर्कामा परेका छन् ।

दिन रात खटिने कर्मचारीको पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित गरिनु दुःखको कुरा हो । वन अधिकृत विमल ठाकुरले कर्मचारीले पाउनुपर्ने सेवा सुविधा डिभिजन वन प्रमुखलाई अवगत गराउँदा समेत बेवास्ता गरेका कारण आन्दोलित भएको बताए ।

कर्मचारीको पाउनुपर्ने सुविधाको रकमका विषयमा पटक–पटक आवाज उठाउँदा समेत सुनवाई नभएकाले समस्या समाधानको लागि आन्दोलित हुनु परेको जुनियर वन प्राविधिक संघ रौतहटका अध्यक्ष विजयलाल दन्तले बताए । उता वन प्रमुख अमरदेव यादवले कर्मचारीहरूले अनुशासनविपरीत कार्य गरेको बताए ।

​​​​​