प्राइम खबर संबाददाता | जेठ ३१, २०७९ मंगलबार
रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका मेयर विनोद प्रसाद कुर्मीले आफ्नो पहिलो प्राथमिकतामा शिक्षा क्षेत्र रहेको बताएका छन् । सोमबार वडा नं २ बिश्रामपसर स्थित श्री नेपाल माध्यमिक विद्यालयमा मेयर कुर्मीले ३६ लाखको लागतमा निर्माण हुन लागेको भवनको शिलान्यास गर्दै यस्तो बताएका हुन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बृन्दावन नगरपालिका २ स्थित रहेको श्री नेपाल माध्यमिकको भौतिक पुर्वाधार निर्माणका लागि प्राप्त बजेटबाट चारकोठे भवन निर्माण हुन लागेको हो ।
नगरको विकासका लागि शिक्षा स्तरमा वृद्धि गर्न बृन्दावन नगरपालिकाले शिक्षामा सबैभन्दा बढी बजेट विनियोजन र विभिन्न योजनाहरू आगामी आर्थिक बजेटमा समावेश गरिने मेयर कुर्मीले दाबी गरे । केही दिन अगाडि बतहु माध्यमिक विधालयमा पनि नयाँ भवन निर्माणका लागि ३० लाखको लागतमा एक तले ४ कोठे भवनको शिलान्यास भइसकेको उनले बताए ।
निर्माण हुन लागेको उक्त भवनमा कक्षाकोठा, पुस्कालय , कम्प्युटर तथा विज्ञान प्राविधिक प्रयोगशाला लगायतका सबै अत्याधुनिक कक्षहरु संचालन गर्नसकिने व्यवस्था गरिएको नगर प्रमुख कुर्मीले सो शिलान्यास कार्यक्रममा बताए ।
नगरभरीका विधालयमा शिक्षकको अभाव रहेको कुरा स्वीकार गर्दै आवशयक अनुसारको शिक्षक विधालयमा परिपूर्ति जुनसुकै समस्याको सामना गरि पुरा गर्न प्रतिवद्धता गरेका छन् । शिक्षकहरुको पदपुर्ती गर्न सम्पूर्ण सबै कार्यालयको पदाधिकारीसँग बैठकमा छलफल गरी नगरभरीका विधालयका शिक्षक व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर पहल गरिने उनले बताए। विद्यालयमा नयाँ भवन निर्माण र खेल मैदानका लागि पर्याप्त जग्गाको अभाव हुनु दुःखद भएको उनले बताए । सो विद्यालयमा हाल शुद्ध खानेपानी सहितको छात्रा शौचालय समेत आवश्यक रहेको कार्यक्रमममा सहभागी छात्राहरुले दुखेसो गरेका छन्।
सो कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष रामनाथ सहनी, वडा नं ६ का वडाअध्यक्ष मजहर मंसुर, प्र.अ प्रेमलाल पटेल लगायत स्थानीयहरुको सहभागिता रहेको मेयर कुर्मिका स्वकीय सचिव आशिष राज पटेलले जानकारी दिएका छन ।