प्राइम खबर संबाददाता | असार २, २०७९ बिहिबार

जिल्ला कारागार कार्यालय रौतहटमा बन्दि जीवन विताई रहेका पुर्व मन्त्रि मोहमद अफताब आलमका भाई महताब आलमको विषयमा काठमाडौँबाट प्रकाशित हुने नया पत्रिका दैनिकलाइ जलाएर आलम समर्थकहरुले विरोध जनाएका छन् ।


नेकपा एमालेका नेता किरण साहको भनाइमा लागेर गलत समाचार प्रकाशन गरेको भन्दै आलमका समर्थकहरुले बुधवार सदरमुकाम गौरमा पत्रिका जलाएर विरोध गरेका हुन । 



२०६४ साल चैत्र २७ गते पहिलो संविधान सभाको निर्वाचनको मतदानको पुर्व सन्ध्यामा राजपुर फरहदवामा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा आलम जिल्ला कारागार कार्यालयमा रहेका छन् । 

घटनाका मुख्य योजनाकार भनिएका पुर्व मन्त्रि मोहमद आफताव आलम पनि कारागारमा बन्दि जीवन विताइरहेका छन् ।  जिल्ला कारागार कार्यालय गौरमा रहेका आलमलाइ जेल भित्रै हत्या गराउने योजना बनाउदै गरेका एमाले नेता किरण साहको बारेमा लेख्नु को साटो नया पत्रिकाले उल्टो समाचार सम्प्रेषण गरेर मानसिक तनाव दिएको भनाइ आलम पक्षधरहरुको रहेको छ ।



 साहले आलमको हत्या गर्नको लागि कारागार भित्र रहेका छोटेलाल साहलाइ सुपारी दिएको कुरो बाहिरीए पनि स्थानीय प्रसाशनले साहलाइ नियन्त्रणमा लिएर कार्यवाही गर्न नसकेको आरोप उनीहरूले लगाएका छन् ।

आलम समर्थकहरुले षड्यन्त्र  गर्ने साहलाइ कानुनी कार्यवाही नगरिए स्थानीय प्रसाशनको विरुद्ध चर्को आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । कारागार भित्र पनि असुरक्षित रहेको र मेरो हत्याको योजना बनाउन लागेको भन्दै नेता किरण साह र छोटेलाल साह माथि कानुनी कार्यवाहीको माग गर्दै आलमले कारागार बाट नै जिल्ला प्रहरी कार्यालयमा दुवै जना माथि उजुरी दिएका छन् ।

घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जनाएका छन् । उता पत्रिका जलाउने कार्य  सूचनाको संवाहक पत्र पत्रिका र प्रेसमाथिको हस्तक्षेप मिडिया माथिको प्रहार भन्दै विरोध समेत उठेको छ ।