प्राइम खबर संबाददाता | असार २३, २०७९ बिहिबार

मधेश प्रदेशका सांसद धनलाल ठोकरको संसदीय विकास समिति मार्फत रौतहट जिल्लाकै गौरवको रूपमा रहेको जन ज्योति बहुमुखी क्याम्पसमा रंगरोगन सहित विभिन्न पूर्वाधारका कार्यहरू भएका छन् । रौतहटको शैक्षिक धरोहरको रूपमा रहेको उक्त क्याम्पस भवन सिंगरिए पछि अहिले सांसद ठोकरको चर्चा चुलिएको छ ।


   सांसद ठोकरको पहलमा वर्षौंदेखि रङबिहिन रहेको उक्त क्याम्पस भवनमा रंग रोगन सहित भौतिक पूर्वाधारको कार्यहरू भएपछि चन्द्रपुरमा शिक्षाको मूल कडिको रूपमा रहेको क्याम्पस भवन हेरौ हेरौ लाग्ने भएको स्थानीयहरु बताउँछन् । मधेश प्रदेशका जनप्रतिनिधिहरु प्रायः ढुङ्गा, माटो, ग्रावेल लगायतको योजनाहरू मात्र छनौट गरी असारे विकाशमा मात्र केन्द्रित रहेको आरोप लागिरहेको बेला सांसद ठोकरले शिक्षा र स्वास्थ्य लगायतको सामाजिक क्षेत्रमा राज्यको लगानी अत्यावस्यक रहेको र त्यसलाई आत्मसात् गर्नुपर्ने कुरालाई मध्यनजर गर्दै काम गर्दै आएका छन् ।



  उनको शिक्षाप्रतिको लगाव एबम् उत्तरदायित्वको सामाजिक क्षेत्रमा विकासप्रेमी नेताले शिक्षाको क्षेत्रमा पनि लगानी गर्न सक्छन् भन्ने गतिलो उदाहरण उनले दिएका छन् । “क्याम्पसको रंगरोगन र आवश्यक भौतिक पूर्वाधारको काममा हामीले जनप्रतिनिधिको मुख ताकेको धेरै भएको थियो, कोही बाट हाम्रो कुराको सुनुवाई भएन तर पछिल्लो समय क्याम्पसको स्वरूप नै परिवर्तन भएको देखेर धेरै खुशी लागेको छ” सोही क्याम्पसमा अध्ययनरत प्रकाश राज रजक बताउँछन् ।

   मधेश प्रदेश सरकार पूर्वाधार विकाश कार्यालय मार्फत २५ लाखको लगानीमा क्याम्पसको तीनतले भवनको भित्र बाहिर रंग रोगन सहित फ्लोर ब्लक र अन्य पूर्वाधारका कामहरू निर्माणको अन्तिम चरणमा रहेको क्याम्पसका छात्र भीमराज अधिकारीले बताए ।