प्राइम खबर संबाददाता | असार २८, २०७९ मंगलबार

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित नमुना माविको रूपले परिचित जनज्योति माविका लेखापालले नमुना काम गरेको रहस्य बाहिरिएको छ । उक्त विद्यालयका लेखापाल जागरण खड्काले रद्द भइसकेको चेकबाट कसैलाई थाहा नदिइकन सुटुक्क रकम निकालेको रहस्य बाहिरिएको हो ।


विद्यालयले पाठ्यपुस्तक खरिद गरे वापत भुक्तानी गर्न विद्यालयका शिक्षक लक्ष्मण खनालको नाममा जेठ २५ गते राष्ट्रिय वाणिज्य बैंक चन्द्रनिगाहपुरमा रहेको विद्यालयको खाता नम्बर १२१००००५४६०१ को ३ लाखको चेक काटेको थियो । संस्थाको भुक्तानी व्यक्तिको नाममा चेक काटेर कारोबार नगर्ने पुस्तक आपूर्तिकर्ताका भनाइ पश्चात अर्को चेक मार्फत पाठ्यपुस्तक खरिद गरेवापत चन्द्रपुर- ४ मा रहेको श्रेष्ठ पुस्तक पसललाई रकम भुक्तानी भएको थियो । सोही शिर्षकको खर्चमा अर्को चेक मार्फत भुक्तानी भएको पाएपछि शिक्षक खनालले आफ्नो नामको चेक भने लेखापाल खड्कालाई फिर्ता गरेका थिए ।



शिक्षक खनालले आफूले लेखापाल खड्कालाई चेक फिर्ता दिने बेला गोश्वारा भौचर आफैले क्रस गरेर रद्ध गरे पनि लेखापल खड्काले चेक भने रद्द गर्न लाग्दा आफै गर्नेभनी राखेको तर रद्द नगरीकन असार २० गते सुटुक्क बैंकबाट सो चेक साटेर रकम निकालेको बताए ।

सुटुक्क भुक्तानी लिएका लेखापाल खड्काले कसैलाई थाहै नदिई विद्यालयको खाताबाट तीन लाख आफूले निकालेर प्रयोग गरेको रहस्य खुलेपछि हतारहतार असार २४ गते शुक्रबार फेरि तीन लाख बैंकमा जम्मा गरेको सोही विद्यालयले जनाएको छ ।



‘यो त सरासर मलाई फसाउने नियत देखियो,’ शिक्षक खनालले भने, ‘यो रहस्य नखुलेको भए भोलि छानबिन हुँदा म फस्ने थिएँ । यसरी किर्ते काम गर्ने लेखापाललाई कारवाही हुनुपर्छ । मेरो नामको चेकको रकम दुरुपयोग गरिएकोमा मेरो घोर आपत्ति छ ।’ शिक्षक खनाल बताउँछन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कार्कीले आफूले यस कार्यलाई अत्यन्त गम्भीर रुपमा लिएको बताउँदै तत्काल छानबिन समिति गठन गरेर लेखापाललाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफूलाई यस घटनाको बारेमा जानकारी हुनेबित्तिकै लेखापाललाई विद्यालयको रकम पुनः बैंकमा जम्मा गर्न लगाएको बताउँदै यस्ताखाले लेखापाललाई कारवाही गर्नुको विकल्प नरहेको जिकिर गरे । यस्ता गैर जिम्मेवार कर्मचारीको कारण सिंगो संस्था नै बद्नाम हुनु परेको उनको भनाइ रहेको छ ।

वडा नम्बर ६ का वडाध्यक्ष सहदेव केसीले लेखापाल खड्काले गल्ती नभएर जानाजान अपराध गरेकोले उनलाई कारवाही हुने बताए । लेखापाल खड्काले गरेको कसुरको एकमात्र समाधान भनेको उनीमाथि गरिने कारवाही भएको बताउँदै आएको भएतापनि  वडा अध्यक्षलेे  समेत बेवास्ता गरेको  अभिभावकहरू बताउँछन् ।

यता यसै विषयमा छलफल गर्न मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितको विद्यालयका शिक्षकहरुको बैठक बसेको थियो । सो बैठकमा अधिकासं शिक्षकहरुले लेखापाल खड्काले गल्ति गरेको भन्दै छानविन हुनुपर्ने भन्दै उनीमाथि कारवाहीको माग गरेको बैठकमा सहभागि एक शिक्षकले बताए । उनका अनुसार बैठकमा लेखापाल खड्काले भने आफुले गलत नियतका साथ नभई पेश्कीस्वरुप रकम निकालेको दावी गर्दै विद्यालयलाई जानकारी नदिइ आफुखुसी रकम निकाल्नु गल्ती भएको स्विकार गरेका थिए ।



विद्यालय व्यवस्थापन समितिले छानविन समिति गठन गर्ने भनेपनि लेखापाल खड्कालाई निलम्बन नगरेका कारण थप प्रमाण नष्ट हुने भन्दै उनलाई निलम्बन गरेर मात्र छानविन गर्नुपर्ने अर्का एक शिक्षकले बताए । निलम्बन नगरि छानविन गर्दा छानविन प्रभावित हुनसक्ने आशंका व्यक्त गर्दै उनले छानविन झारा टार्ने मात्र हुने हो कि भन्ने शंका उत्पन्न भएको बताए । अहिले सो विद्यालयमा भएको रकम अपचलन को घटनाले चौतर्फी आलोचना खेप्नु परिरहेको छ। पछिल्लो समय सो विद्यालय व्यवस्थापन समितिमा देवराज कार्की अध्यक्ष भएर आए पश्चात विद्यालयमा शिक्षाको गुणस्तर लगायत विद्यालयको भौतिक, आर्थिक,प्रशासनिक कामको प्रगतिमा निकै उल्लेखनीय काम गर्दै आएको विद्यालयमा यस किसिमका कर्मचारीहरुबाट हुने अनियमितताको कामले सिंगो समितिलाई नै बद्नाम पार्न खोजिएको हुँदा गतिशील अवस्थामा रहेको समितिले दोषी ठहरिएका खड्का लाई कारबाही गर्नु बुद्धिमानी हुने अधिकांस अभिभावकहरुको समेत भनाइ रहेको छ ।