प्राइम खबर संबाददाता | साउन १, २०७९ आइतबार
आज साउने संक्रान्ति पर्व मनाइँदैछ । सौर्यमान्यअनुसार सूर्य दक्षिणतर्फ सरी कर्कट रेखामाथि जाने भएकाले आजको दिनलाई कर्कट संक्रन्ति पनि भनिन्छ ।
कृषिप्रधान देशमा ‘मानो खाइ मुरी उब्जाउने’ प्रचलित कथनअनुसार आषाढ महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यसदिन भोज खाने गर्दछन् ।
यसैदिन साँझ लुतो, दाग आदि चर्मादी रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन रहेको छ । आषाढभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्मादी रोगबाट जोगिन तुलो फाल्ने प्रचलनस्वरुप यो पर्व मनाउन थालिएको हो ।
प्राचीन प्रचलनअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो आदि औषधीय वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कन्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ ।
लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।
महिलाहरुले भने साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनका साथै शिवलाई ‘प्रसन्न पार्न’ सोमबारे ब्रत बस्ने गर्दछन् ।