प्राइम खबर संबाददाता | साउन ३, २०७९ मंगलबार

रौतहटमा पछिल्लो समय मोटर साइकलको स्वरूप परिवर्तन गरी ठेलागाडा बनाई प्रयोग गर्नेहरुको संख्यामा दिन प्रतिदिन बढ्दै गइरहेको छ ।


जिल्लाको चन्द्रनिगाहपुर क्षेत्रमा सवारी ऐनको खिल्ली उडाउँदै मोटरसाइकलको स्वरूप आफूखुशी परिवर्तन गरी निर्बाध रूपमा चल्ने गरेको भएतापनि सम्बन्धित सरोकारवालाले ध्यान दिन सकेको छैन ।



पुराना मोटरसाइकलको स्वरूप परिवर्तन गरी तिनपाङ्रे लोड गाडीको रूपमा प्रयोग गर्दा दुर्घटनाको जोखिम उच्च हुने भएको हुँदा नियमनकारी निकाय जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले समेत त्यस तर्फ ध्यान पुग्न नसकेको हुँदा दुई पाङ्ग्रे सवारी को स्वरूप परिवर्तन गर्ने विकृतिले बढवा पाएको स्थानीय जीवन सिंह बताउँछन् । त्यस्ता ठेलाको रूपमा स्वरूप परिवर्तन भएका मोटरसाइकलको कागजपत्रहरु समेत नभएको पाइएको छ।

त्यसरी ठेला बनाइएका मोटरसाइकल नेपालका र भारतीय नम्बरका समेत चोरीका मोटरसाइकलहरुको प्रयोग भएको हुन सक्ने हुँदा नंबर विहिन सवारी नेपाली प्लेटको हो, न भारतीय नम्बरको त्यो कुनै खुलेको हुँदैन, निर्वाधरुपमा चल्दै आएका त्यस्ता ठेलामा प्रयोग भएका मोटरसाइकलको नंबर प्लेट नै हुँदैनन् त्यसले गर्दा दुर्घटना भई हालेपनि कुन र कति नम्बरको सवारी हो त्यसको लेखा जोखा नहुँदा समस्या उत्पन्न हुन सक्ने स्थानीयहरु बताउँछन् ।



राजमार्गमा बसेर सवारी जाँच गर्ने गरेका ट्राफिक प्रहरीले सामान्य भन्दा केही आवाज ठूलो आएको, बत्ती नबलेको र स्टिकर लगाएको अवस्थामा समेत मोटरसाइकललाई स्वरूप परिवर्तन गरेको भन्दै चिट काट्ने गरेको भएता पनि यसरी असाधारण स्वरूप परिवर्तन गरी कुद्ने ठेलाहरुलाई सम्बन्धित निकायले ध्यान दिनुपर्ने राजेश यादव बताउँछन् ।