प्राइम खबर संबाददाता | साउन ५, २०७९ बिहिबार

जिल्ला प्रहरी कार्यालय पर्साले अबैध हुन्डिको रकम ४१ लाख ५५ हजार रकम सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ । 

विशेष सूचनाको आधारमा बुधबार बिहान ८ः०० बजे प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले बिरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चौक स्थित सडकखण्डमा भारतको रक्सौलबाट बिरगंज तर्फ आइरहेको भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्दा भारत बिहार, जिल्ला पूर्वी चम्पारण थाना रक्सौल वडा नं.११ बस्ने वर्ष २५ को राकेश कुमारलाई ४१ लाख ५५ हजार रकम सहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । 

मोटरसाइकलको सिटमुनी तथा ट्ंयाकीमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली ४१ लाख ५५ हजार रुपैया फेला परेको हुँदा रकम सहित कुमारलाई पक्राउ गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।