प्राइम खबर संबाददाता | साउन ९, २०७९ सोमबार
सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्य समितीको बैठक भर्खरै सकिएको छ । काँग्रेस केन्द्रिय कार्यसमितको बैठकले गरेको विभिन्न निर्णयका कारण राजनितीलेनै नयाँ कोर्ष लिने होकी भन्ने आशंका र अनुमानहरु पनि सुरु भएका छन् ।
काँग्रेसको १४ आँै राष्ट्रिय महाधिवेशन सकिएको आधा बर्ष भएको छ । सभापतीमा निर्वाचित भएका शेरबहादुर देउवाको परामा कुनै परिवर्तन नभएको भनेर पनि आलोचना हुने गरेको छ ।यस विचमा देखिएको केहि दृश्यले काँग्रेसमा नयाँ गुट जन्मिएको चर्चा पनि चल्न थालेकोे छ जसले सभापती शेरबहादुर देउवा र अर्को गुटको नेतृत्व गरिरहेका शेखर कोइरालालाई पनि झस्काएको छ ।काँग्रेस भित्र पछिल्लो समय महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको बाक्लो हिमचिमले धेरैको कान ठाडो भएको छ । नयाँ पुस्ताका उदयमान नेताका रुपमा उदाइरहेका गगन र विश्वप्रकाशको कुरा मिल्न थाल्नु र हिमचिम धेरै बढे पछि देउवा र कोइराला दुवै गुटका नेताहरु सशंकित बनेका छन् ।गगन र विश्व मिलेर काँग्रेसमा नयाँ गुट जन्मिएको चर्चा छ । १४ आँै महाधिवेशनमा भारी मतका साथ महामन्त्रीमा निर्वाचित भएका गगन र विश्व पछिल्लो समय निकै नजिक भएका छन् । उनिहरुका एजेण्डा र कुराकानी मिल्न थालेका छन् । यति सम्मकी गगन थापाले आफुलाई आगामी निर्वाचन पछि प्रधानमन्त्रीको उमेदवारका रुपमा प्रस्तुत गर्नु र जसलाई विश्वप्रकाशले तुरुन्त समर्थन गर्नु पनि एउटा अर्थपूर्ण रहेको काँग्रेसहरु बताउछन् ।
राजनितीमा गगन थापा भन्दा विश्वप्रकाश शर्मा सिनियर हुन तर संसदीय फाँटको जिम्मेवारीका हिसाबले गगन सिनियर देखिन्छन् । विश्वप्रकाश आज सम्म पनि सांसद बन्न पाएका छैनन् भने गगन थापा तीन पटक सांसद र एक पटक मन्त्री समेत भइसकेका छन् ।अहिले सम्म गगन थापाले म प्रधानमन्त्रीको उमेदवार बन्छु भन्दा काँग्रेसका कसैले पनि समर्थनमा बोलेका छैनन् तर विश्वप्रकाशले भने गगन प्रधानमन्त्रीको उमेदवार बनेमा आफुले पुराका पुरा साथ दिने र प्रस्तावकनै बन्ने घोषणा गरेका छन् । दुई फरक फरक गुटबाट काँग्रेसको महामन्त्री बनेका गगन र विश्वको दुनिँयाले बुझ्ने गरी नै दोस्ती बढेको छ ।
१४ औँ महाधिवेशनमा गगन थापा शेखर कोइराला गुटबाट र विश्वप्रकाश शर्मा प्रकाशमानसिंह गुटबाट महामन्त्रीमा बिजयी भएका थिए । त्यसो त काँग्रेस महाधिवेशनको म्यान्डेट गगन र विश्व मिलुन् भन्ने खालकै थियो किनभने उनिहरुले गुटको दायरा भन्दा धेरै मत प्राप्त गरेका थिए ।गगन र विश्वप्रकाश मिलेकै कारण हालै सम्पन्न काँग्रेसको केन्द्रिय कार्य समितको बैठकमा सभापती देउवाले चाहे जस्तो मात्रै एकलौटी निर्णय हुन पाएन । निर्णय प्रक्रियामा गगन र विश्वप्रकाशनै हाबी भएका छन् । उनिहरुले पार्टी भित्र आफ्नो प्रभाव बढाउँदै छन् ।
गगन थापाले आफुलाई प्रधानमन्त्रीको उमेदवारको रुपमा अघि सारेको कुरा शेखर कोइराला सहित शेखर टिमकै मान्छेलाई फिटिक्कै मन परेको छैन । शेखर कोइरालाले पनि गगन थापालाई काउन्टर दिँदै आफुलाई प्रधानमन्त्रीको रुपमा अघि सारेका छन् । गगन थापा र विश्वप्रकाश मिलेर काँग्रेसमा नयाँ गुट बन्न लागेको र युवाहरुले आगामी महाधिवेशनमा निर्णायक हस्तक्षेप गर्ने गरि लामो समय सम्मकै डिजाइन हेरेर अघि बढ्न खोजेको चर्चा चलेको छ । गगन थापा प्रधानमन्त्री भएमा उनकै समर्थनमा १५ औँ महाधिवेशनमा विश्वप्रकाश शर्मा पार्टी सभापती बन्ने सम्मको अड्कल बाजी चल्न थालेको छ ।