प्राइम खबर संबाददाता | साउन ११, २०७९ बुधबार

नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचित नागेश कोइरालाको सम्पत्ति विवरणले ठूलो आशंका जन्माइदिएको छ ।

कोइरालाले बजार क्षेत्रमा साढे चार बिघा जग्गा, ३ करोड ३० लाखको प्राडो, ८० तोला सुन र १० लाख नगद रहेको विवरण बुझाएका छन्। ४९ वर्षीय मेयर कोइरालाले बुझाएको सम्पत्ति विवरणमा घर र व्यवसायबारे उल्लेख छैन । उनले सम्पत्तिको स्रोत पैतृक भएको उल्लेख गरेका छन् ।



कोइरालाले २०५४ देखि तरुण दल मोरङबाट राजनीति शुरु गरेका हुन् । विराटनगर अस्पताल चोकमा कोइरालाको घरमा ग्रीन क्रस अस्पताल बसेको छ । अस्पताल परिसरमा रहेको घरमा कोइराला बस्छन् । घरका विषयमा कोइरालाले केही भनेका छैनन् ।

विराटनगर–१५ मा कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी २८ हजार ७१९.७८ वर्गमिटर (८५ कठ्ठा) र विराटनगर ११ मा ११ कठ्ठा जग्गा रहेको विवरण पेश गरेका छन् ।

कैफियतमा विराटनगर–११ मा रहेको ११ कठ्ठा जग्गा भाई डा.पुरु कोइरालाको नाममा रहेको उल्लेख छ । कोइरालाले पेश गरेको विवरणमा ८० तोला सुन २० वर्ष अघि ८ लाखमा खरिद गरेको उल्लेख छ । सानिमा बैंकमा १० लाख रुपियाँ मौजदात रहेको विवरण पेश गरेका छन् ।

स्थानीय तहको निर्वाचनभन्दा एक महिनाअघि २०७८ चैतमा टोयोटा कम्पनीको प्राडो गाडी ३ करोड ३० लाखमा खरिद गरेको उल्लेख गरेका छन् । कोइराला २०५६ मा तरुण दल मोरङको अध्यक्ष थिए । शेरबहादुर देउवाले पार्टी विभाजन गर्दा उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)मा गएका थिए ।

उनी अहिले शेखर कोइराला निकटका हुन् । शेखरले नै उनलाई मेयरको टिकट दिलाएका हुन् ।