प्राइम खबर संबाददाता | साउन २०, २०७९ शुक्रबार

रौतहटको चन्द्रपुर स्थित चन्द्रनिगाहपुर सरकारी अस्पतालमा शुक्रबार देखि एक्स-रे मेसिन संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय द्वारा  प्राप्त एक्स-रे मेसिन जडान भएसंगै संचालनमा आएको हो । विगत चार बर्ष देखि सो अस्पतालमा एक्सरे मेसिनको अभाबमा उपचारका लागि आउने बिरामीहरु समस्यामा पर्दै आएका थिए । 
१५ शैयाको उक्त अस्पतालमा उपचार गर्न आउने बिरामीलाई सहजता होस भनेर एक्स-रे मेसिन संचालनमा ल्याएको चन्द्रपुरका नगरप्रमुख संजय काफलेले बताए । यसअघि डिजिटल एक्सरे मेशिन नहुदा बिरामीले नीजि अस्पतालमा महगो शुल्क तिरेर सेबा लिनुपर्ने बाध्यता रहेको थियो । डिजिटल एक्सरे संचालनमा आएपछि अन्यन्त्र जानु पर्ने समस्याबाट छुटकारा सँगै सेवाग्राहीलाई सहज र सुलभ रुपमा सेवा प्रदान हुने नगर कार्यपालिका सदस्य नेत्र कुश्वारले बताए । 
  शुक्रबार भएको एक्सरे मेसिन जडान तथा संचालन कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफले, कार्यपालिका सदस्य कल्याणराज कुश्वार, नेत्र कुश्वार, चन्द्रपुर नगरपालिकाका वडाअध्यक्षहरु रबि राना मगर, जीतेन्द्र चौधरी, नबराज देबकोटा, टंकेश्वर चौधरी लगायतको उपस्थिति रहेको थियो । अस्पतालमा भएको पुरानो एक्सरे मेसिन लामो समय देखि बिग्रिएर थन्केको अवस्थामा रहेको हुँदा आजबाट अस्पतालले सो सुविधा प्रदान गर्न लागेकोमा आफूहरु त्यसबाट लाभान्वित भएको स्थानीय सुधीर घिमिरेले बताए ।