प्राइम खबर संबाददाता | मंसिर २२, २०७९ बिहिबार
सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । काठमाडौमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारमा जाने निर्णय गरेको हो । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
'बैठकले सरकारमा जाने निर्णय गरेको छ, बैठकपछि पार्टीका महासचिव चन्दनसिंहले साझा पोष्टसँग भने– सरकारमा जान खुला छौं, मधेशका माग र किसानका मुद्दा सम्बोधन हुने शर्तमा सरकारमा जाने निर्णय भएको छ ।’ सिंहले नेपाली कांग्रेस र नेकपा एमाले दुबै पार्टीले आफूहरुको साथ खोजेको र छलफल चलिरेहको पनि बताए । सरकारमा जाने विषयमा छलफल गर्न कार्यदलले बनाउने निर्णय समेत बैठकले गरेको छ ।बठकले संसदीय दलको विधान पनि पारित गरेको छ । प्रत्यक्ष तर्फ एक सिट जितेको जनमतले पहिलो प्रयासमै राष्ट्रिय पार्टी बनेर समानुपातिक तर्फ ५ सिट हासिल गरेको छ । र, सरकार बनाउन निर्णायक हुने अवस्थामा आफूलाई उभ्याएको छ ।
तराई मधेशमा नयाँ शक्तिको रुपमा उदाएको जनमतले सरकारमा जाने निर्णय गरेसँगै अब जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले के गर्लान भन्ने चासो बढेको छ । यी दुई पार्टीको विकल्पका रुपमा जनमतले आफूलाई तराई मधेशमा उभ्याएको बुझिएको छ ।