प्राइम खबर संबाददाता | पुस २६, २०७९ बुधबार

अफलाइन राइड शेयरिङमा जान चाहने राइडरहरूले आफूलाई चिनाउन थोत्रा मोबाइल कभरको सहारा लिने गरेको पाइएको छ । दुर्घटनाको जोखिम देखाउँदै ट्राफिक प्रहरीले गएको भदौयता मोबाइल स्ट्यान्ड राख्न नदिएपछि अफलाइन राइडरहरूले यो नयाँ जुक्ति निकालेका हुन् । 


सामान्यतया नेभिगेसन तथा म्याप हेर्ने सहजताका लागि मोबाइल स्ट्यान्ड राख्ने गरिएको थियो । तर अफलाइन राइडरहरूका लागि भने त्यो टाढैबाट आफूलाई चिनाउने सङ्केत पनि थियो ।



यस्तोमा ट्राफिक प्रहरीले मोबाइल स्ट्यान्ड नै राख्न नदिएपछि पछिल्लो समय केही राइडरहरूले बाइकको ह्याण्डलमा मोबाइलको पुरानो कभर राखेर अफलाइन राइडर भएको संकेत दिन थालेका हुन् । हामीले रत्नपार्क, सुन्धारा र कोटेश्वर चोकमा भेटिएका राइडरहरूलाई नियालेका थियौँ ।



त्यहाँ भेटिएका अधिकांश राइडरहरूको बाइक अघि पुराना मोबाइल कभरहरू राखिएका थिए । यस क्रममा भेटिएका एक राइडरलाई हामीले पुराना कभर राख्नुको कारण सोधेका थियौँ ।“यात्रुले राइड शेयरिङ हो भन्ने कुरा सजिलै ठम्याउन सकून् भनेरै अगाडिपट्टि मोबाइल कभर राख्न थालिएको हो,” उनले भने । हाल काठमाडौं उपत्यकामा पठाओ, इनड्राइभ, सजिलो राइड शेयरिङ, सहारा जस्ता थुप्रै राइड शेयरिङ सञ्चालनमा छन् ।

धेरैजसो राइड शेयरिङमा लाग्ने कमिसनबाट बच्न तथा ट्याक्सीले जस्तै बार्गेनिङमा राम्रो रकम प्राप्त हुने लोभमा राइडरहरूले अफलाइनको सहारा लिने गरेका छन् ।