न्यूज डेस्क | बैशाख १७, २०८१ सोमबार

आइतबारबाट नेपालमा २ दिने तेश्रो लगानी सम्मेलन चलिरहेको छ । काठमाडौंको सोल्टी होटेलमा चलिरहेको उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।


इमर्जिङ इन्भेष्टमेन्ट समिट २०२४ नाम दिइएको लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर १६ सय जना सहभागी हुने लक्ष्य लिईएको उक्त सम्मेलनमा नेपालबाट २ सय प्रतिनिधी सहभागी भएका छन् । लगानी बोर्डका अनुसार सम्मेलनका लागि विभिन्न ५५ वटा देशका लगानीकर्ता आउँदैछन् । सम्मेलनमा एक सय ५० आयोजना सोकेसमा राखिँदैछन् ।



यस्तै सम्मेलन स्थलमा २३ वटा प्रदर्शनी कक्ष रहनेछन् । सम्मेलनका क्रममा विभिन्न १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कुल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् ।



सम्मेलनमा आज ११ समानान्तर सत्र सञ्चालन हुनेछन् । विदेशी तथा स्वदेशी लगानीकर्तालाई सम्मेलनमार्फत नेपाल लगानीका लागि आकर्षक गन्तव्यका रूपमा रहेको सन्देश दिइने लगानी बोर्डले जनाएको छ ।
यसैबिच सो लगानी सम्मेलनमा रौतहट जिल्लाको धार्मिक तथा पर्यटकिय स्थलको रुपमा रहेको नुनथर पर्यटकिय क्षेत्रले पनि स्थान पाएको छ । सिमान्चल रौतहट सर्लाही फिल्म सिटि नाम दिईएको उक्त परियोजनाका लागी उत्कृष्ट एकसय ५० भित्र पर्न सफल भएको कार्यक्रममा सहभागी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले प्राईम खबरलाई बताए । 
नुनथर क्षेत्र बहुुुबिबिधताले भरिपूर्ण रहेको हुदाँ त्यस क्षेत्रमा लगानी गर्न बिदेशी निकायहरुले निकै तत्परता देखाएको समेत उनले बताएका छन् ।  नुनथर क्षेत्र मधेश प्रदेशकै गौरबको रुपमा रहेको हुदाँ यसले आन्तरीक तथा बाह्य पर्यटनका लागी मुख्य आकषर्णको केन्द्र बन्दै आउनुमा नुनथर क्षेत्र बिकास समितिले खेलेको भुमिका समेत निकै प्रशंसनिय रहेको बताएका छन् ।

समितिका अध्यक्ष रामकुमार भट्राईको अदम्य साहस लगनशीलताले नुनथर क्षेत्रको संरक्षण र बिकासमा खेलेको भुमिका अतुलनिय रहेको समेत नगर प्रमुख काफ्लेले बताएका छन् । ''नुनथरको इतिहासलाई जीबन्त राख्न भट्राई नेतृत्वको समितिले खेलेको भुमिकाले आज सर्थकता पाउने भएको छ । देशभरीका डेढसय आयोजना सोकेसमा पर्दा त्यसमा हाम्रो चन्द्रपुर १ मा अबस्थित नुनथर क्षेत्र पनि पर्नु एउटा गर्बको कुरा हो ।'' उनले भने । 

उक्त  सम्मेलनमा नेपाल सरकार आयोजक र नेपालको निजी क्षेत्र सहआयोजकका रूपमा रहेका छन् ।