प्राइम खबर संबाददाता | पुस ३, २०७९ सोमबार

अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल मेसी पनि अब सर्वकालीन महानको सूचीमा समावेश भएका छन् । ३५ वर्षको उमेरमा पनि जबरजस्त प्रदर्शन गर्दै मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएका छन् ।

विश्वकपको आफ्नो अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई हराएर करिअरको पहिलो विश्वकप उपाधि जिते । मेसीले विश्वकपमा अन्तिम खेल खेले पनि पहिलो पटक उपाधि जित्दै बिदाइलाई सुखद बनाए । कतारमा विश्वकप ट्रफी उचालेसँगै विश्वकप जित्न नसकेको खेलाडी भन्ने ट्याग उनले हटाएका छन् ।



यो पुस्ताका दुई उत्कृष्ट खेलाडी हुन् मेसी र क्रिस्टियानो रोनाल्डो । क्लब लेभलमा यी दुईले सम्भव भएसम्म सबै उपाधि जिते व्यक्तिगत अवार्डहरु पनि उत्तिकै जिते । राष्ट्रका लागि पनि एकाध उपाधि जिते । तर फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता वा महान खेलाडीको मानकका रुपमा रहेको विश्वकप जितेका थिएनन् । विश्वकप नजित्दासम्म दुवै खेलाडीलाई महान भन्ने वा नभन्नेमा मत मतान्तर देखिएको थियो ।

तर कतारमा सम्पन्न २२औं संस्करणको विश्वकप ट्रफी उचाल्दै मेसीले अब भने पेले र म्याराडोना जस्ता महान खेलाडीको सूचीमा आफूलाई उभ्याउन सफल भएका छन् ।