प्राइम खबर संबाददाता | माघ ७, २०७९ शनिबार

रौतहटमा पछिल्लो समय लागू पदार्थ दुर्व्यसनीको अखडा नै बन्दै गएको छ । जिल्लाको उत्तरी क्षेत्रमा चन्द्रनिगाहपुर बजार आसपासका क्षेत्रमा लागू औषधको अवैध कारोबार र सेवन हुनेगरेको पाइएको छ। 
सो क्षेत्रमा विगत लामो समयदेखि दुर्व्यसनीहरुको हब नै बन्दै गएको भएतापनि स्थानीय प्रहरी प्रशासनले खासै ध्यान दिन नसकेको स्थानियहरुको आरोप रहेको छ । 
लागूऔषध सेवन गर्ने प्राय १८ देखि ३५ वर्ष सम्मका युवाहरु रहेको स्थानीयहरु बताउँछन् । उनीहरू भन्छन “लागू औषध प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढ्दै गएको छ, स्थानीय प्रहरी प्रशासनलाई जति भन्दा पनि सुने नसुने झैं गर्छन,  प्रहरीले कडाइ गर्ने गरेको भए यस्तो विकराल अवस्था आउने थिएन । गाउँघरमा चोरीका घटना पनि  बढ्दै गएका छन् । लागू औषध सेवनकर्ताहरुको व्यवहारले गर्दा हाम्रा सन्ततिले नी सिक्ने हुन् कि भन्ने चिन्ता परेको छ । ’’ 
बजारमा छ्याप्छ्याप्ती खुलेका औषधि पसलबाट इंजेक्शन सहज रुपमा पाइने र त्यसमा प्रयोग हुने एमपुलहरु सीमा जोडिएको छिमेकी मुलुक भारत स्थित बैरगनियाबाट सहज रुपमा नै ल्याउने गरेको लागूऔषध दुर्व्यसनमा लागेकाहरू स्वयं नैं बताउँछन् । पाँच सात जना सम्मको समूह बनाई पालै पालो बैरगनिया जाने र एक दिन एउटाले प्रसस्त ल्याउने र अर्को दिन अर्कोको पालो आउने हुँदा आफूले ल्याएको लागू औषध ग्रुपमा बिक्री गर्दा आफ्नो खर्च समेत उठ्ने भन्दै सेवनकर्तामा रोटेसन सिस्टम रहने गरेको खुलेको छ ।

चन्द्रनिगाहपुर बजार  क्षेत्रमा गस्तीमा रहेका  प्रहरी लागू औषधको सेवनकर्ताहरु लठ्ठ भएर हिड्दा समेत मुकदर्शक भएर बस्दा युवाहरुको मनोबल बढ्दै गएको देखिन्छ । चन्द्रनिगाहपुर मै पनि पछिल्लो समय प्रहरी प्रशासनको उपस्थिति फितलो हुँदा सेवन सँगै कारोबार समेत मौलाएको प्रस्टै बुझिन्छ ।
गत कार्तिक २१ गते साँझमा चन्द्रपुर ६ कै करण राई ठूलो परिमाणको लागूऔषध सहित एक होटलबाट पक्राउ परेका थिए। अवैध लागुऔषधको कारोबारमा संलग्न राईलाई पक्राउ गरिएको भएता पनि उनका अन्य सहयोगीहरु र संलग्नको गिरोहबारे चासो लिन प्रहरीले नसकेको आरोप चन्द्रनिगाहपुर प्रहरीलाई लाग्दै आएको छ । अझ उनलाई छुटाउन केही नेताहरु नै सक्रिय रूपले लागि परेको समेत कुरा बहिरिनुले प्रहरीको अनुसन्धानलाई नै प्रभावित पारेको हो कि भन्ने बुझाइ सर्वसाधारणमा रहेको छ। 
चन्द्रनिगाहपुर बजार क्षेत्र चन्द्रपुर नगरपालिका वडा नम्बर ६ अन्तर्गत पर्छ सो क्षेत्रमा प्राय दैनिक जसो सानो तीनों चोरीको घटना देखि घर पसल समेत चोरी हुने गरेको घटना बढ्नुको कारण लागूऔषध नै रहेको स्थानीयहरु बताउँछन् । चन्द्रनिगाहपुरमा प्रहरी प्रशासनको फितलो उपस्थिती र यस विषयमा अबुझ झै रहेको रौतहट प्रहरीको लाचारपनको फाइदा लागू औषध कारोबारी र दुर्व्यसनीहरुले लिइरहेको देखिन्छ। बजारमा छयाप छ्याप्ति खुलेका मेडिकल र औषधि पसलमा भइरहेको बिना प्रेस्कृप्सन् औषधि र सिरिन्जको बिक्री वितरणमा कडाइ नहुँदा समेत त्यसले समस्या निम्त्याएको देखिन्छ । अझ केही औषधि पसलेले बढी मूल्य आउने र धेरै फाइदा कमाउने दाउमा विभिन्न किसिमका प्रतिबंधित औषधिहरु समेत बिक्री वितरण गर्ने गरेको स्रोतले प्राइम खबर लाई बताएका छन् । 



 

​​​​​