प्राइम खबर संबाददाता | चैत ८, २०७९ बुधबार

रौतहटको गरुडा नगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै एक स्थानीय युवा आमरण अनसनमा बसेका छन् ।

नगरपालिकाका नगरप्रमुख कन्थमनि जयसवालले व्यापक रुपमा आर्थिक अनियमितता गरेको तथा अनाधिकृत रुपमा करारमा कर्मचारी भर्ना गरेको लगायत विभिन्न विषयलाई लिएर गरुडाका स्थानीय युवा दिपक यादवले आइतबार देखि गरुडा नगरपालिका कार्यालय अगाडी आमरण अनसनमा बसेका हुन् । उनी भन्छन “भ्रष्टाचारमा चुर्लुम्म डुबेको नगरपालिका संग एउटा सूचना माग गर्दा वेवास्ता गरिएपछि आमरण अनसनमा बस्न बाध्य भएको हुँ ।“

 मंगलबार देखि नेता यादबको स्वास्थ स्थिति समेत बिग्रीदै गएको भनेपछि स्थानीय गरुडाका चिकित्सक टोलीले उनको स्वस्थ परीक्षण समेत गरेको थियो ।

शिक्षा क्षेत्रमा खर्च गरिएका बिबरण सार्वजनिक हुनुपर्ने, बिजुलिवती र इंटरनेट जडान भएको खर्चको बिबरण, स्वास्थ्य क्षेत्रमा गरिएका खर्च बिवरण, करारका कर्मचारिहरुको नियुक्तिपत्र र हाजीरी रजिस्टरको प्रतिलिपि साथै तलव, पेशकीको विवरण, पदपूर्ति समितिको निर्णय र छनौट प्रक्रियाको प्रतिलिपि, विकास निर्माणका कार्यका सम्पूर्ण योजनाहरुको विवरणहरू र योजनाको भुक्तानि भएको सम्पूर्ण कागजातहरुका प्रतिलिपि, दर्ता चलानी किताबमा दर्ता भएको पत्रहरुको प्रतिलिपि, हाल सम्म्म भएको खर्च रकमको शीर्षक सहितको मासिक विवरणहरुको प्रतिलिपि, नगर सभाहरुको निर्णयका प्रतिलिपिहरु, कोरोना पीडि़तहरुलाई दिएको रकमको विवरण प्रतिलिपि, नगरपालिकको सम्पूर्ण बैंक खाताहरुको विवरणको माग राख्दै आमरण अनसनमा बसेका यादवको समर्थनमा रहेका जनता समाजवादी पार्टीका नेता राजकुमार दासले बताए ।

संविधानले नै दिएको अधिकार सूचनाको हक प्रयोग गरेर माग गरिएका कागजातहरु हालसम्म पनि गरुडा नगरपालिकाले उपलब्ध नगराउदा बाध्य भएर अनसनको माध्यमबाट शान्तिपूर्ण आन्दोलनमा उत्रिनु परेको परेको अनसनरत युवा दिपक यादब बताउँछन् ।

गरुडा नगरपालिकामा भएको विभिन्न खाले भ्रष्टाचार ,अनियमितताको पराकाष्ठालाई समाप्त पार्दै सो नगरपालिकामा शुशासन र पारदर्शिता ल्याउन गरेको यस अनसनमा आफ्नो ज्यान गए पनि फरक नपर्ने उनले बताएका छन् । जनताको नाममा सरकारबाट आएको बिकासका रकम पार्दशी र ईमान्दारी ढंगले खर्च हुनु पर्ने यादबको माग छ । लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता समेत रहेका यादवले सुरु गरेको आमरण अनसनलाई गरुडा नगरपालिकाको विभिन्न राजनीतिक दल र स्थानीय युवाहरुले साथ र एकेबद्धता जनाएका छन् ।

उता गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले अनसनरत दिपक यादवको स्वास्थ अवस्था र माग प्रती गम्भीर रहेको बताएका छन् । आफुले केही सुचना उपलब्ध गराएको र छिटै थप सुचना उपलब्ध गराउने समेत बताएका छन् । अर्को तर्फ मेयर कन्थमनि जयसवालले आफु निकै ईमन्दारिता अनुसार नगरपालिका चलाईरहेको भन्दै आफू माथी भ्रष्टाचारको आरोप लाग्नु निराधार रहेको बताएका छन् ।

आफुले छिटै सार्वजनिक सुनुवाइको आयोजना गर्दै आफू माथी लागेको आरोपको खण्डन गर्ने समेत उनले बताएका छन् । मेयर जयसवालले आफुले चालीरहेको बिकास र समृद्धिको गतिलाई रोक्न बिपक्षीको समूहले जालझेल गरेको आरोप लगाएका छन् ।