प्राइम खबर संबाददाता | असार ११, २०८० सोमबार
नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण सुरु गरेको छ । अनलाइन आवेदन मार्फत प्राप्त गर्न सकिने सदस्यता ‘साधारण सदस्यता’ हो ।
कांग्रेसको विधानमा साधारण क्रियाशील गरि दुई प्रकारका सदस्यता वितरण हुने व्यवस्था छ । साधारण सदस्यता वितरण गरिने विगतमा प्रचलन थिएन । साधारण सदस्यता प्राप्त गरेको व्यक्तिले एकवर्ष पछि क्रियाशील सदस्यता पाउने विधानको प्रावधान छ ।
कांग्रेसको सदस्यता लिनको लागि पार्टीको साइटमा उपलब्ध गराइएको फर्म भर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि नाम, जन्ममिति, इमेल आइडी, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, ठेगाना, ब्लड गु्रप, भाषा, पेशा प्रदेश, जिल्ला लगायतको विवरण भर्नुपर्दछ । साथै, पासपोर्ट आकारको तस्वीर, नागरिकताको अघिल्लो भाग र पछाडीको फोटो पनि अपलोड गर्नुपर्ने हुन्छ । सदस्यता प्राप्त गर्नका लागि २० रुपैयाँ तोकिएको छ ।
सबै विवरण भरिसकेपछि ‘म पूर्ण निष्ठा र इमान्दारितासाथ राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श, सिद्धान्त एवं उद्धेश्यमा आस्था राख्दै पार्टीको विधान र अनुशाुसन पालना गर्न प्रतिवद्धता साथ शुल्क रु २० बुझाई नेपाली कांग्रेसको सदस्यता प्राप्ति /नवीकरणका लागि आवेदन गर्दछु ।’ भन्ने वाक्याशंमा सहमति जनाई टिक लगाउनुपर्दछ । प्रतिवद्धता जनाइसकेपछि विवरण भर्ने कार्य सकिन्छ । आवेदन दिइसकेपछि स्कान मार्फत पैसा तिर्न सकिन्छ । पार्टीले विवरण हेरिसकेपछि आवेदकलाई ओटीपी ९वन टाइम पासवोर्ड० मोबाइल नम्बरमा पठाउँछ । उक्त ओटीपी नम्बर राखेर भेरिफाई गरेपछि कांग्रेसको साधारण सदस्यता लिने क्रम सकिन्छ । अनलाइन मार्फत नै सदस्यता प्रिन्ट गरिने पार्टीले जानकारी गराएको छ ।