न्यूज डेस्क | बैशाख ६, २०८३ आइतबार

रौतहट,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रपुर नगर समितिले ‘नागरिकसँग रास्वपा अभियान’ अन्तर्गत नागरिकका विविध क्षेत्रसँग सम्बन्धित समस्याहरूको सहजीकरणका लागि प्रभावकारी कार्यदल गठन गर्ने निर्णय गरेको छ।
आइतबार बसेको नगर समितिको बैठकले स्थानीय स्तरमा देखिएका जनसरोकारका मुद्दाहरूलाई सामाजिक रूपमा सहजीकरण गर्ने उद्देश्यसहित विषयगत जिम्मेवारी बाँडफाँड गर्दै कार्यदल निर्माण गर्ने निर्णय गरेको हो। समितिका अनुसार अभियानले दबाबमूलक राजनीति होइन, सम्बन्धित निकायहरूसँग संवाद, सहकार्य र सहज वातावरण निर्माण गर्दै न्याय सम्पादनमा सहयोग पुर्‍याउने लक्ष्य लिएको छ।

नगर सभापति अरुण लामाले विगतदेखि राजनीतिक पहुँचका आधारमा आफ्ना पार्टी कार्यकर्ता वा समर्थकको मात्र पक्ष पोषण गर्ने गलत अभ्यास हुँदै आएको उल्लेख गर्दै रास्वपाको अभियान त्यसबाट फरक हुने बताएका छन्।
उनका अनुसार अन्यायमा परेका नागरिकको पक्षमा निष्पक्ष रूपमा काम गर्दै समाजमा सकारात्मक अभ्यास स्थापित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। उनले अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिँदै वास्तविक पीडित नागरिकले न्याय पाउने वातावरण सिर्जना गरिने बताए।

नगर सचिव मुकुन्द पौडेलले सुशासन प्रत्याभूति गराउन सम्बन्धित सरकारी निकायहरूलाई उत्कृष्ट न्याय सम्पादनमा सहयोग गर्ने अभियानको लक्ष्य रहेको बताए।
उनले भने, “बोली नभएकाहरूको आवाज बन्ने र न्यायबाट वञ्चित नागरिकहरूलाई साथ दिने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। नागरिक र राज्यका निकायबीच पुलको भूमिका निर्वाह गर्दै समस्या समाधानतर्फ पहल गरिनेछ।”
रास्वपा चन्द्रपुर नगर समितिका अनुसार बैठकले अभियान सञ्चालनका लागि जिम्मेवार संयोजकहरू तथा सहजीकरणका क्षेत्रसमेत तोकेको जनाएको छ।

बैठकले विभिन्न क्षेत्रगत समस्या समाधानका लागि निम्न संयोजकहरूलाई जिम्मेवारी प्रदान गरेको छः
• शिवराम राउत – साना तथा ठूला व्यवसायीका समस्या (९८४९७६०९८८)
• मुकुन्द पौडेल – खानेपानी, स्वास्थ्य तथा सरसफाइ (९८५४०४९९५५)
• पुरनदेव चौधरी – शिक्षा क्षेत्र (९८४५६०८८८८)
• बिष्णु थापा – चन्द्रपुर नगरपालिकाभित्रका समग्र समस्या (९७६५७०५२४६)
• रेवती दहाल – वन, नदी तथा वातावरण (९८४१५७४२४३)
• बिष्णु पहाडी – भूमि सम्बन्धी समस्या (९८४५६६०४३०)
• राज किशोर गुप्ता – ई–प्रशासन तथा सरकारी कार्यालय सम्बन्धी विषय (९८५५०४१३२२)
• गंगा खड्का – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक (९८४५११६०८७)
• रोहित बास्तोला – गृह तथा नागरिक सुरक्षासम्बन्धी समस्या (९८५५०३२७९४)
समितिले नागरिकका समस्या प्रत्यक्ष रूपमा सुन्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने तथा समाधानमुखी पहल अघि बढाउने गरी अभियान सञ्चालन गरिने जनाएको छ।
रास्वपाले स्थानीय तहमा सुशासन, पारदर्शिता र न्यायिक पहुँच विस्तार गर्ने लक्ष्यसहित ‘नागरिकसँग रास्वपा अभियान’लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।