प्राइम खबर संबाददाता | भदौ १४, २०८० बिहिबार

चन्द्रनिगाहपुर खानेपानी संस्थाका वरिष्ट सदस्य बलराम सापकोटा अहिले वडाबासीलाई खानेपानीको व्यवस्था मिलाउन पाइप लाइन विस्तारमा जुटेका छन् ।


चन्द्रपुर नगरपालिका वडा नम्बर ६ निवासी सापकोटा डाबरी टोलका स्थानीयले लामो समयदेखि शुद्ध खानेपानी पिउनबाट वञ्चित भएपछि समस्या समाधानका लागि नयाँ पाइपलाइन विस्तारका निम्ति कम्मर कसेर लागेका हुन् । 



खानेपानी संस्थाको केही महिना अघि सम्पन्न भएको सञ्चालक समितिको निर्वाचनमा सापकोटाले सर्वाधिक लोकप्रिय मत ल्याएर सदस्य पदमा निर्वाचित भएका थिए। अहिले उनी बाल निकेतन स्थित राई टोल हुँदै डाबरी चोक सम्म पूर्ण रूपले बन्द रहेको खानेपानी सुचारु गराउन धरानका मेयर हर्क साम्पाङ जसरी लागि परेका छन् । 



विगतमा सो क्षेत्रमा खानेपानीको पाइप सानो रहेको थियो भने सदस्य सापकोटाको पहलमा अहिले ठूलो पाइप जडानको कार्य धमाधम भइरहेको हुँदा उक्त डाबरी टोलका स्थानीयले खुशी व्यक्त गरेका छन् ।  पाइप अवरुद्ध हुँदा खानेपानीबाट लामो समय देखि वञ्चित रहेको अवस्थामा खानेपानी संस्थाका वरिष्ट सदस्य सापकोटाको मेहनत र पहलकदमी पश्चात घरको धाराबाट पानी आउने भएपछि आफूहरु निकै खुसी रहेको स्थानीय निर्मला राईले बताइन् ।