प्राइम खबर संबाददाता | भदौ २८, २०८० बिहिबार

हिन्दू नेपाली नारीहरुको महान चाड हरितालीका तिजको अवसरमा नेपाली कांग्रेस रौतहटका चर्चित युवा नेता रबिन चन्द्र कोइरालाले निजी निवासमा तीज बिशेष कार्यक्रम अन्तर्गत तीज विशेष साँस्कृतिक कार्यक्रम २०८० को आयोजना गरेका छन् । 
नेता कोइरालाको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित रहेको निजी निवासमा  तीज विशेष कार्यक्रम आयोजनाको तयारी पूरा भएको नेपाली कांग्रेस चन्द्रपुर वडा नम्बर ५ का सभापति कल्याण कार्कीले बताए । भोली शुक्रवार तीज बिशेष कार्यक्रम अन्तर्गत दर खुवाउने तथा साँस्कृतिक कार्यक्रम हुने भएको हो । नेपाली कांग्रेस मधेश प्रदेश सदस्य समेत रहेका नेता कोइराला पछिल्लो समय रौतहट क्षेत्र नम्बर ४ को राजनीतिमा युवापुस्तामाझ लोकप्रिय मानिन्छन् ।  विभिन्न सामाजिक कार्यहरूमा आफ्नो सक्रिय सहभागिता जनाउदै आएका नेता कोइरालाले पहिलोपटक आफ्नो निजी निवास मा तीज विशेष साँस्कृतिक कार्यक्रमको आयोजनामा जुटेका सभापति कार्कीले प्राइम खबरलाई जानकारी दिएका छन् । उनले धार्मिक, सामाजिक महत्व जोडिएको हरेक चाँडपर्वमा शुभकामना दिँदै आएका छन् । 
"कला संस्कृति र परम्परालाई जगेर्ना गर्दै हरितालिका तीज मनाऔं, हिंसा रहित सकारात्मक सोच सहितको समाज निर्माण गरौं" भन्ने मूल नाराका साथ " तीजको दर तथा सांस्कृतिक कार्यक्रम"  तिज विशेष कार्यक्रममा सहभागिता जनाउन पार्टीका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरु, सुबेक्छुक संस्था,भातृ संस्था,भगिनी संस्था हरुबाट प्रतिनिधित्व गर्ने नारीहरुलाई  उपस्थितीको लागि नेता कोइरालाले अपिल गरेका छन्। 
नेपाली कांग्रेस वडा सभापति कार्कीका अनुसार सो कार्यक्रम  शुक्रवार मध्यान्ह १ वजे देखि ५ बजे सम्म संचालन हुने बताइएको छ।