प्राइम खबर संबाददाता | असोज २४, २०८० बुधबार

आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले ऐतिहासिक रुपमा सर्वाधिक ठूलो लक्ष्य पुरा गरेको छ । विश्वकप इतिहासमा सर्वाधिक धेरै रन चेस गर्ने टोली पनि पाकिस्तान बन्न सफल भयो ।


२ खेलाडीको शतकको मद्दतले ३४४ रन बनाएको श्रीलंका विरुद्ध पाकिस्तानका पनि २ खेलाडीले शतकीय प्रदर्शन गर्दै जित दर्ता गराउन सफल भए । पाकिस्तानको जारी विश्वकपमा लगातार दोस्रो जित हो भने श्रीलंकाको लगातार दोस्रो हार हो । पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै महत्वपूर्ण ६ विकेटको जित दर्ता गर्न सफल भयो ।



यसअघि आयरल्याण्डले २०११ को विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बनाएको ३२९ रनको लक्ष्य पार गर्दै रेकर्ड बनाएको थियो । उक्त रेकर्डलाई आज पाकिस्तानले तोड्न सफल भयो । ३४५ रनको लक्ष्य पछ्याएको पाकिस्तानको सुरुआत भने राम्रो रहेन । इमान उल हक व्यक्तिगत १२ रन बनाएर आउट भएका थिए ।



ओपनर अब्दुलाह सफिकले शतकीय पारि खेल्दै सम्हाल्दा उनलाई मोहम्मद रिजवानले गतिलो साथ दिए । पाकिस्तानका कप्तान बाबर आजम भने असफल रहेका थिए । सफिक र रिजवान दुवैले शतकीय पारि खेल्दै पाकिस्तानलाई जितको बलियो आधार खडा गरे ।

सफिकले १०३ बल फेस गर्दा ३ छक्का र १० चौकाको मद्दतले ११३ रन बनाएका थिए । यस्तै, रिजवानले ११९ बलमा १३० रनको नटआउट शतकीय पारि खेल्दै पाकिस्तानलाई जिताए । यसैगरी सउद सकेलले ३१ रन बनाउँदा इफ्तिकर अहमदले २२ रन बनाए ।