न्यूज डेस्क | जेठ २७, २०८१ आइतबार

जलवायु परिवर्तन र वातावरणीय दिगोपनामा बालबालिका र अभिभावकलाई शिक्षित गर्ने उद्देश्यले प्रीस्कूल जलवायु परिवर्तन र दिगो विकास कार्यक्रम” नामक एक कार्यक्रमको आयोजना गरिएको छ । दुई दिने कार्यक्रम रहेको उक्त कार्यक्रम शनिबार देखि आईतबार सम्म चलेको थियो। जलवायु परिवर्तन र दिगो विकासको लागि पहलकदमी मानिएको उक्त कार्यक्रम अङ्ग्रेजी महिना अनुसार ८ र ९ जुनमा सफलतापूर्वक सम्पन्न भएको हो । "प्रीस्कूल जलवायु परिवर्तन र दिगो विकास कार्यक्रम" यूरोपेली युनियनको युथ साउन्डिङ बोर्डकी सदस्य आयुष्मा काफ्लेले नेतृत्व गरेकी हुन र उक्त कार्यक्रमले यस क्षेत्रको वातावरणीय शिक्षामा थप सहयोग पुर्‍याएको छ। हाल महाराजगन्ज चिकित्सा क्याम्पसमा तेस्रो बर्ष अध्ययनरत आयुष्मा काफ्ले, मधेश प्रदेशबाट यूरोपियन युनियनको युवा सल्लाहकार हुन। सामाजिक छेत्रमापनि सेवा गर्दै आएकी उनी रौतहट जिल्लाको एसईई २०७४ कि बोर्डटपर समेत रहेकी थिइन् ।


 



आयुष्मा काफ्लेले "एक्शन एट होम प्रोजेक्ट" अन्तर्गत यो प्रभावकारी दुईदिने कार्यक्रम आयोजना गरेकी थिइन्, जसमा यूरोपेली संघको साझेदार यूथ इनोभेसन ल्याब, रेस्टलेस डेभलपमेन्ट, क्रियसन, र सेन्टर फर डिजास्टर म्यानेजमेन्ट स्टडिजको समर्थन थियो। उक्त परियोजना चन्द्रपुर-०६, रौतहट अवस्थित शुभारम्भ प्री-स्कूलमा कार्यान्वयन भएको थियो। कार्यक्रमको क्रममा, लगभग ३० जना बालबालिका, ५ जना प्रीस्कुल कर्मचारी र १५ जना अभिभावक सहित ५० जना सहभागीहरूहरु वातावरणीय दिगोपन र जलवायु कार्यको गहिरो समझ र सराहना गर्ने उद्देश्यले विभिन्न क्रियाकलापहरूमा संलग्न भएका थिए।



 

 कार्यक्रमले वयस्कहरू र बालबालिकाहरूका लागि छुट्टाछुट्टै सत्रहरू प्रस्तुत गर्‍यो। वयस्क सत्रहरूमा रमाइलो सिकाइ क्रियाकलापहरूको माध्यमबाट कार्यशाला मोडेलमा एक जानकारीमूलक प्रस्तुति समावेश गरिएको थियो, जसमा आधारभूत ज्ञान मूल्यांकन र विचार-विमर्श सत्रहरू समावेश थिए। यस सत्रमा क्लाइमेट चेंज एक्टिविस्ट, इको हीरो अवार्ड विजेता २०२१, र ग्रीन रेंजर्स अर्थका संस्थापक आशिष लामिछानेले फोहोर व्यवस्थापन , ऊर्जा संरक्षण, पानीको प्रयोग र जलवायु कार्यको व्यावहारिक उपायहरूको बारेमा छलफल गरे। यी सत्रहरूमा बालबालिकाले वयस्कहरूलाई रोल मोडेलको रूपमा लिने गरेको र यसरी साना कदमहरू उठाउन प्रेरित गर्न सकिनेमा जोड दिएका थिए।

 

बालबालिका सत्रहरूमा उमेरअनुसारको कथावाचन, गीतहरू र खेलहरू समावेश गरिएको थियो, जसले वातावरणीय अवधारणाहरूमा रिसाइक्लिङ, र हातले बोटबिरुवा रोप्ने कार्यक्रम जस्ता क्रियाकलापहरू विशेष रूपमा रुचाइएको थियो। बालबालिकाहरूले सक्रिय रूपमा ऊर्जा र पानी जोगाउन बत्ती र धारा बन्द गरेर आफ्नो उत्साह देखाए। "खुशी पृथ्वी" चित्रण जस्ता सामूहिक परियोजनाहरूले उनीहरूको समझ र प्रतिबद्धता सुन्दर रूपमा प्रदर्शन गरेका थिए ।

 

कार्यक्रमको एक मुख्य आकर्षण नजिकैको नर्सरी भ्रमण थियो, जहाँ बालबालिकाहरूले शिक्षक र अभिभावकहरूको सहयोगमा बिरुवा रोपे। यस अनुभवले तिनीहरूलाई बोटबिरुवाको महत्वको बारेमा सिकाउने प्रयास गर्दै वातावरणमा योगदान गर्न जिम्मेवारी र गर्वको भावना पनि दियो।

 

कार्यक्रमको प्रभाव तत्कालीन सहभागीहरूभन्दा बाहिर फैलिएर सम्पूर्ण समुदायमा पुगेको छ। आयुष्मा काफ्लेले कार्यक्रमको परिणामप्रति अत्यन्त सन्तोष व्यक्त गर्दै भनिन्, "सानो उमेरका बालबालिकाहरूमा पनि अनुकूलन र दिगो विकासको रूपान्तरण क्षमताको प्रबल सम्भावना हुन्छ। घर र विद्यालयको वातावरणमा जलवायु कार्यको चेतना समाहित गर्दा लामो समयसम्म दिगोपनको आधार तयार हुन्छ। प्री-स्कूल शिक्षकहरू र अभिभावकहरूलाई सशक्त पार्नाले साना बालबालिकाहरूका साथ अन्तरपुस्तीय संवाद र व्यवहार परिवर्तनका लागि अभ्यासहरूलाई प्रोत्साहित गर्छ!"

 

स्थानिय सरोकारवालाहरू, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय कार्यकर्ताहरू, सञ्चारकर्मीहरूले यो प्रयासको सराहना गरेका छन् भने येस्ता कार्यक्रमलाई अन्य प्री-स्कूलहरू र समुदायहरूमा पनि दोहोर्याउन सकिने विश्वास व्यक्त गरे। यस पहलको सफलताले चन्द्रपुर नगरपालिकामा र त्यसपछिका क्षेत्रमा वातावरणीय दिगोपनको संस्कृतिको विकासतर्फ एक महत्वपूर्ण कदम रहने आशा बनेको छ।

 

कार्यक्रम सम्पन्न हुँदा, शुभरम्भ प्री-स्कूलकि प्रधानाध्यापक र संचालक ईश्वरी कुवरले उक्त कार्यक्रमको प्रशंसा गर्दै आफ्नो व्यक्तिगत र प्रीस्कुल परिवारको तर्फबाट वातावरण प्रतीको आफ्नो जिम्मेवारीमा अटल रह्ने अठोट गरिन् । साथै उक्त प्रीस्कुलको तर्फबाट प्रारम्भिक पाठहरूको दिगो प्रभाव र निरन्तर वृद्धिको पनि अपेक्षा गरिरहेको छ। वाईएसबी सदस्य काफ्लेद्वारा आयोजित "प्री-स्कूल जलवायु परिवर्तन र दिगो विकास कार्यक्रम," हरियाली संसारको तर्फको एक सकारात्मक कदम बन्न पुग्ने कार्यक्रममा सहभागी अभिभावक यशोदा थापाले बताइन्।