न्यूज डेस्क | बैशाख १३, २०८३ आइतबार
रौतहट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिको आयोजनामा भएको “सांसद अन्तरक्रिया तथा परिचात्मक कार्यक्रम” शनिबार उत्साहजनक वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रममा पार्टीका केन्द्र, प्रदेश तथा स्थानीय तहका पदाधिकारीहरू, सक्रिय कार्यकर्ताहरू साथै पार्टीको तर्फबाट निर्वाचित संघिय सांसदहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले आपसी समन्वय, भावी रणनीति र जनताको अपेक्षालाई कसरी प्रभावकारी रूपमा सम्बोधन गर्ने भन्ने विषयमा विचार आदानप्रदान गरेका थिए।
सिराहा–४ का सांसद तथा मधेश प्रदेश सभापति ई. तपेश्वर यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संगठन सुदृढीकरण, जनमुखी नीति निर्माण तथा सुशासन प्रवर्द्धनका विषयमा विशेष छलफल भएको थियो।
कार्यक्रमका क्रममा सभापति यादवले सहभागी सम्पूर्ण पदाधिकारीहरू, प्रतिनिधिहरू तथा सांसदहरूलाई गम्छा ओढाएर सम्मान गर्दै आगामी कार्यकाल सफल र जनहितमुखी बनाउनेतर्फ प्रतिबद्ध रहन आग्रह गरेका थिए। उनले पार्टीभित्र एकता, अनुशासन र सक्रियताको आवश्यकता औंल्याउँदै मधेश प्रदेशमा रास्वपाको प्रभाव अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमले पार्टीका विभिन्न तहबीच समन्वय अभिवृद्धि गर्नुका साथै आगामी दिनमा प्रभावकारी रूपमा जनताको सेवामा लाग्ने स्पष्ट सन्देश दिएको सहभागीहरूले बताएका छन्।